जनकपुरधाम, ४ पुस । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।
भारत सरकारको चार करोड रुपैयाँभन्दा बढीको सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले गर्नुभएको हो ।

नवनिर्मित भवनमा रसायनशास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशालासहित ३७ वटा अतिरिक्त कक्षाकोठा, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालयको व्यवस्था गरिएको छ। यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आधुनिक र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत मिना ले बालबालिका तथा विद्यार्थीहरूका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले भारत सरकारले सहयोग गरेको बताउनुभयो। उहाँका अनुसार उक्त विद्यालय भवन भारत–नेपाल विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा ३ करोड ७० लाख रुपैयाँको निविदा लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो।
महावाणिज्यदूत मिनाले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनजस्ता नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा भुईँ तहबाटै आधारभूत पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ यी परियोजनाहरू कार्यान्वयन हुँदै आएको जानकारी दिनुभयो। यस्ता परियोजनाहरू नेपाल सरकारसँग सहकार्य गरी जनताको जीवनस्तर उकास्न र समग्र विकासमा योगदान पु¥याउने लक्ष्यका साथ अघि बढाइएका उहाँको भनाइ थियो।
गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संविधानसभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कविन्द्रनाथ ठाकुर, शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेत कुमार पोख्रेललगायत वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष जयकुमार यादवले भारतीय महावाणिज्यदूत मिना लाई कौशेली, सम्मानपत्रलगायतका माध्यमबाट सम्मान गर्नुभएको थियो।

