जनकपुरधाम, २५ पुस । तराई-मधेश क्षेत्रमा पछिल्ला केही दिनदेखि चिसोको मात्रा निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ । बिहान(बेलुकाको कुहिरो, शीतलहर र न्यून तापक्रमका कारण सर्वसाधारणको दैनिकी कठिन बन्दै गएको छ । विशेषगरी गरिब, मजदुर, वृद्धवृद्धा, दीर्घरोगी तथा साना बालबालिका चिसोको प्रत्यक्ष मारमा परिरहेका छन् । चिसोका कारण अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बिरामीको चापसमेत बढ्न थालेको चिकित्सकहरूले बताएका छन् ।
महिला विशेषज्ञ वरिष्ठ चिकित्सक वृजमोहन राजक अनुसार अत्यधिक चिसोले शरीरको प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसका कारण विभिन्न संक्रमणजन्य तथा दीर्घरोगहरू सक्रिय हुने सम्भावना बढ्छ । रुघाखोकी, ज्वरो, दम, निमोनिया, ब्रोंकाइटिस, छालासम्बन्धी रोग, जोर्नी दुखाइ, रक्तचापको समस्या तथा मुटुसम्बन्धी जटिलता चिसो मौसममा बढी देखिने रोगहरू हुन्। चिसोले रक्तनली संकुचित गराउँदा उच्च रक्तचाप र मुटुका बिरामीलाई झनै जोखिम हुने बताउँछन् ।त्यस्तै जनकपुरधामका वरिष्ठ चिकित्सक डा. राजीव झाका अनुसार चिसो मौसममा नयाँ रोग लाग्नुका साथै पहिलेबाटै रहेका रोगहरू पनि बल्झिने गर्छन् । “दम, मधुमेह, उच्च रक्तचाप, मुटु तथा फोक्सोका दीर्घरोग भएका बिरामीहरू चिसोमा विशेष सतर्क हुनुपर्छ,” उनले भने, “चिसोले शरीरमा अक्सिजन आपूर्ति र रक्तसञ्चारमा असर पार्ने भएकाले सामान्य लापरबाहीले पनि गम्भीर समस्या निम्त्याउन सक्छ ।”
चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, निमोनिया र कानको संक्रमण देखिने गरेको छ भने वृद्धवृद्धामा जोर्नी दुखाइ, पक्षघातको जोखिम र श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने गरेको छ । त्यस्तै, खुला स्थानमा काम गर्ने मजदुर, रिक्सा चालक, किसान तथा सडकमा बस्ने नागरिकहरू चिसोबाट सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्छन् ।
चिकित्सक रामबाबु रमण जयसवालले चिसोबाट बच्न सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन सुझाव दिन्छन् । सबैभन्दा पहिले न्यानो कपडा प्रयोग गर्नुपर्नेमा उनीहरूको जोड छ । शरीरका संवेदनशील अंग-टाउको, कान, घाँटी, हातखुट्टा, न्यानो राख्न टोपी, मफलर, पञ्जा र मोजा प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बिहान सबेरै र राति अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन, विशेषगरी कुहिरो लागेको समयमा यात्रा नगर्नसमेत सल्लाह दिइएको छ । त्यस्तै, खानपानमा पनि विशेष ध्यान दिनुपर्ने बताएका छन् । न्यानो, ताजा र पोषणयुक्त खाना खानु, तातोपानी वा झोलिलो पदार्थ सेवन गर्नु, अत्यधिक चिसो पानी र बासी खाना नखानु स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । मदिरा र चुरोटजस्ता पदार्थले शरीरलाई न्यानो बनाउने भ्रम भए पनि दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यस्ता पदार्थबाट टाढा रहन जयसवालले सुझाव छन् ।
उहाँले आगो बाल्दा वा हीटर प्रयोग गर्दा सुरक्षा उपाय अपनाउन, सुत्दा कोठा अत्यधिक बन्द नराख्न र अक्सिजनको कमी हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।
त्यस्तै डा.एसके सिंहका अनुसार दीर्घरोगी बिरामीहरूले नियमित औषधि सेवन गर्न, चिकित्सकको सल्लाहबिना औषधि बन्द नगर्न र समस्या बढेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार चिसो बढेसँगै सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको संख्या क्रमशः बढ्दै गएको छ । यस अवस्थामा स्थानीय तह, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायले विपन्न र असहाय वर्गका लागि न्यानो कपडा वितरण, आगो ताप्ने सुरक्षित स्थानको व्यवस्था तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।चिसो मौसम आफैंमा रोग होइन तर लापरबाही र असावधानीका कारण यो धेरै रोगको कारण बन्न सक्छ । त्यसैले चिकित्सकहरूको सल्लाहअनुसार न्यानो बस्ने, स्वस्थ खानपान गर्ने, अनावश्यक जोखिम नलिने र समस्या देखिएमा समयमै उपचारमा जाने हो भने चिसोबाट हुने धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने छ ।
एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर

