जनकपुरधाम, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म मधेश प्रदेशमा २० प्रतिशत मतदान भएको छ भने देशभर औसत २८ प्रतिशत मत खसेको जनाइएको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २९ प्रतिशत मतदान भएको छ । त्यस्तै गण्डकी प्रदेशमा २९ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, कोशी प्रदेशमा २३ प्रतिशत र कर्णाली प्रदेशमा ३२ प्रतिशत मतदान भएको छ ।
तथ्यांकलाई हेर्दा सबभन्दा कम मतदान मधेश प्रदेशमै भएको देखिन्छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २८ प्रतिशत, भक्तपुरमा २४ प्रतिशत र ललितपुरमा ३२ प्रतिशत मतदान भएको छ। उपत्यकाभर औसत ३६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
देशभर कुल १६५ निर्वाचन क्षेत्रमा १० हजार ४७ मतदानस्थल र १८ हजार ३६८ मतदान केन्द्रमा मतदान जारी रहेको छ। कुल १ करोड ८ लाख ३६ हजार ८९२ मतदाता रहेकामा दिउँसो ३ बजेसम्म ४५ लाख ४६ हजार ९८० मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ।
मतदान शान्तिपूर्ण रूपमा जारी रहेको र हालसम्म कुनै उल्लेखनीय अप्रिय घटना नभएको आयोगले जनाएको छ। सुरक्षा निकायहरू परिचालन गरी मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ ।

