जनकपुरधाम, २० चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले तोकिएको मापदण्ड पूरा गरी खाद्य स्वच्छता कायम गरेका १२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण प्रमाणपत्र प्रदान गरेको छ।
कार्यालय प्रमुख विमल दाहालका अनुसार ती होटल तथा रेष्टुरेन्टलाई प्राप्ताङ्क (स्कोर) र लोगो सहितको हरियो स्टिकर पनि प्रदान गरिएको छ।
स्तरीकरण प्रमाणपत्र प्राप्त गर्ने होटलहरूमा मिथिला यात्री निवास (जनकपुरधाम–६), होटल सपा प्रालि (जनकपुरधाम–९), जानकी स्टार होटल प्रालि (जनकपुरधाम–८), होटल रामा प्रालि (जनकपुरधाम–१), होटल अरिपन प्रालि (जनकपुरधाम–२), अञ्जनी सुइट प्रालि (जनकपुरधाम–८), होटल सिटी पार्क (जनकपुरधाम–९), होटल मिस्टिक मिथिला प्रालि (जनकपुरधाम–२), होटल सीताशरण प्रालि (जनकपुरधाम–२३), होटल वेलकम प्रालि (जनकपुरधाम–२), मिथिला थाली प्रालि (जनकपुरधाम–८) तथा मैथिल थाल प्रालि (जनकपुरधाम–७) रहेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहाल तथा कार्यालय प्रमुख विमल दाहालसहितको टोलीले ती होटलहरूलाई प्रमाणपत्र वितरण गरेको हो। सो क्रममा होटलका रेष्टुरेन्टमा हरियो स्टिकर टाँस गर्नुका साथै भान्सा कोठा र सेवा क्षेत्रको अनुगमन तथा निरीक्षण गरिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘होटल तथा रेष्टुरेन्ट स्तरीकरण निर्देशिका, २०७४’ अनुसार खाद्य स्वच्छताका मापदण्डका आधारमा अनुगमन तथा मूल्याङ्कनपछि ती होटलहरूलाई स्तरीकरण गरिएको कार्यालयले जनाएको छ।

