जनकपुरधाम, २६ चैत । मैथिली पुस्तक ‘जगन्मुक्ति’माथि पत्रकार तथा साहित्यकारहरूले व्यापक रूपमा विचार–विमर्श गरेका छन् ।
विहीबार नेपाल पत्रकार महासंघ, धनुषा शाखाको सभाकक्षमा वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र विह्वलद्वारा लिखित उक्त कृतिमाथि करिब दुई दर्जन साहित्यप्रेमीहरूले आफ्ना धारणा राखेका हुन् ।
मिथिला क्षेत्रको सांस्कृतिक, धार्मिक तथा भावनात्मक जीवनलाई समेट्दै ‘जगन्मुक्ति’ हिमालय पारदेखि समुद्री तटसम्म शीर्षकमा प्रकाशित यस कृतिले मिथिलावासीको आस्था, परम्परा र जीवनदर्शनलाई उजागर गर्ने प्रयास गरेको बताइएको छ ।
पुस्तकमा विशेषतः मिथिलाको जगन्नाथ यात्रादेखि विभिन्न धार्मिक स्थलहरूको यात्रालाई समेटिएको छ। यसमा हिन्दू धर्मशास्त्रअनुसार भगवान् नारायणका विभिन्न स्वरूपसँग सम्बन्धित तीर्थस्थलहरूको सजीव वर्णन गरिएको छ । नेपालका हिमाली क्षेत्रदेखि भारतका समुद्री तटसम्म फैलिएका धार्मिक स्थलहरू मिथिला संस्कृतिको साझा सम्पत्ति रहेको सन्देश कृतिले प्रवाह गरेको सहभागीहरुले बताएका छन् ।

पुस्तकमा जनकपुर, मुक्तिनाथ, काशी, कालिमन्दिरलगायतका धार्मिक स्थलहरूको यात्रा अनुभव समेटिएको हो । ती यात्राहरूले मिथिलावासीको आस्था, विश्वास र सांस्कृतिक एकतालाई थप सुदृढ बनाउने सन्देश दिएको उल्लेख गरिएको छ ।
विमर्शका क्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीले पत्रकारहरूलाई यात्रा–संस्मरण लेखनतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले भने, “पत्रकार सधैं केही न केही लेख्ने र खोज्ने प्रक्रियामा हुन्छन् । यसलाई अझ गम्भीरतापूर्वक लिएर रिपोर्ताज शैलीमा यात्रा तथा संस्मरण लेख्न सकिन्छ ।”
वरिष्ठ साहित्यकार रमेश रञ्जनले यात्रा–संस्मरण लेख्दा लेखकले सम्बन्धित स्थानको सभ्यता, संस्कृति, विश्वास र जिज्ञासालाई मध्यनजर गर्ने भएकाले त्यस्तो लेखनले पाठकलाई नयाँ सन्देश दिन सक्ने बताए । उनका अनुसार तुलनात्मक दृष्टिकोणसहित प्रस्तुत गरिएको यात्रा–वर्णन नै यसको मुख्य उद्देश्य हो।

विचार–विमर्श कार्यक्रममा राजेश कर्ण, सुजित झा, कैलास दास, पुरण साह, वीरेन्द्र रमण, आतिश मिश्र, उपेन्द्र भगत, सुरेश झा, श्यामसुन्दर शशि, सुरेश यादव, जितेन्द्र खड्ग, जीवनाथ चौधरी, जितेन्द्र झा, सुनिल मल्लिक, हिमांशु चौधरी, अवधेश कामत, रिंकु मिश्र, प्रेमचन्द्र झालगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

