जनकपुरधाम । वर्षको एक दिन मात्र फुल्ने फुल सुन्दा अचम्भ लाग्छ तर यो सत्य हो । पूर्व पश्चिम राजमार्ग खण्ड अन्तरगत छिमेकी जिल्ला सिरहाको पडरिया चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन राजा फुलवारीमा यस्तै फुल देख्न पाइन्छ । सलहेस फुलवारीको नाउँले प्रसिद्ध रहेको यो ऐतिहासिक फुलवारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुपमा सुनाखरी आकरको फुल फुल्छ र साँझपख मौलाएर जान्छ । यो आफैमा एउटा आश्चर्य हो ।
सो रुख फुलवारीको मध्य भागमा रहेको राजा सलहेसको गहवर (कोठे मन्दिर) सँगै टाँसिएको सो रुपमा वर्षको एक दिन विहानै फुल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्मय नै बनेको छ । माला आकारको सेतो फुलको थुँगा जस्तो देखिनु र साँझपख मौलाएर जानु खोजकर्ताको लागि अनौठो विषय र रोचक रहेको छ । ती रुख के का हुन ? कसरी यतिका दिनसम्म बाँचीरहेका छन् भन्ने खोजको विषय भएको छ । वनस्पतीविद्हरु भन्छन् ( छैठौ सातौं सताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्भको फुलवारे पुरातत्व विभागको खोजीको विषय हो ।
राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भएर सलहेसको जीवन गाथासँग सलहेस फुलवारी र वर्षको एक पटक मात्र फुल्ने फुलको बारेमा पनि एउटा रोचक कथा सत्य घटना सुन्न पाइन्छ । छैठौं सातो सताब्दीतिर त्यस बेला मिथिला भूमीको गढ मैसोथा भने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिका अन्तरगत पर्दछ । त्यस बेला त्यहाँका सामान्त जमिनदार भैरव भूपाल सोनम र मनदोदरीको कोखबाट एउटा इन्द्र स्वरुप बीर बालक जयबद्र्धन (सलहेस)को जन्म भएको थियो । सानैदेखि सौर्यवान, प्रख्खरबुद्धिका धनी र सौर्यशाली थिए सलहेस । अर्थात् वीर योद्धा बाहुबली भन्दा पनि गलत नहुने छन् । सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यस बेला उत्तरमा किरात प्रदेश तिब्बत र भुटानतिरबाट आर्याव्रतमा अन्नवाली पशुहरु लुटेर लग्ने, बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतहरुको आक्रमण रोक्न सलहेसका बुवा भूपाल सोनमले तरेगनागढ (हालको लहान बजारभन्दा चारकिलोमिटर उत्तरतर्फ) का राजा हिन्दुपति सम्शेर भण्डारीलाई सघाउन गए । भोट र किराँतसँग भएको युद्धमा भूपाल सोनम देव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस मैसोदागढको गढपति बने । सलहेस गढपति भएपछि कोशीदेखि पश्चिम गण्डकीसम्म, उत्तर हिमालयका पदम् प्रदेश र दक्षिण गंगासम्म आफ्नो सैन संगठनलाई सुसंगठित पारेका थिए ।
पकडियागढकी राजकुमारी संग्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किवंदन्ती रहिआएको छ । राजा सलहेस दलित मध्ये दुसाध जातिका भएकोले आजपनि जहाँजहाँ दुसाध जातिका मानिसहरु छन् त्यहाँ त्यहाँ सलहेसको गहबर बनाई पूजा गर्ने परम्परा रहेको छ । लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम(दक्षिणमा बाह्र विघा क्षेत्रफलमा फैलिएको यो धार्मिक फुलवारीमा रहेको हारमको रुखमा वैशाख १गतेका दिन मात्र सुनाखरी जस्तो फुलमाला देखापर्छन र दिन ढल्दे जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छ । उक्त अचम्भको फुल हेर्न तथा मेला भर्न नेपाल(भारतका असंख्या श्रद्धालुहरु आउने गर्दछन् । किवदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी भन्ने सुन्दरीले राजा सलहेसको प्रतिक्षामा फुलमाला लिएर रुखमा प्रगट हुन्छिन् भनिन्छ साँचो मलले जसले भाकल गर्छ उसको मनोकामना पुरा हुने गर्दछ । मेलाको दिन दर्जनौं युवा युवतीको जोडी आएर ती फुललाई साक्षीमानी प्रेम विवाह गर्दछ ।
सिरहा जिल्ला भित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिक स्थलको खोजी गरी यसको विकासतर्फ संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्दछ प्रेस काउन्सिल नेपालका पूर्व सदस्य चन्द्रदव कामती भन्दछन् विश्वमा एउटा यही नै यस्तो रुख रहेको छ जसमा वर्षको एकदिन मात्र फुल फुल्ने गर्दछ र साँझपख मौलाएर जान्छ ।
यो एउटा यस्तो देवता हो जसलाई सबै समुदायका मानिसले पुज्ने गर्दछन । राजा सलहेसको गाथालाई जिवनन्तता दिन अहिलेपनि गाउँ गाउँमा सलहेसको गीत र महराई मार्फत यसको उजागर गर्ने परम्परा रहेको छ । आफ्ना समयमा पराक्रमकै बलमा नागरिकलाई सुशासनको प्रत्याभूति गराउने लोकदेवता सलहेसको जीवनगाथासँगै जोडिएको धार्मिक तथा ऐतिहासिक स्थलहरु सलहेस फुलवारी, मानिक दह, पकडियागढ, पतारी पोखरीको विकासमा सरकारले ध्यान दिनसके यसले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको विकासमा थप टेवा पुग्न जाने जनविश्वास रहेको छ ।

