जनकपुरधाम, २४ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल डेरी उद्योगको १०५ किलो दही नष्ट गरेको छ । नष्ट गरिएको दहीको बजार मूल्य करिब १२ हजार रुपैयाँभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि अधिकृत रमेश दाहालको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगमा उत्पादित दहीमा आवश्यक लेबल नभएको, गुणस्तर परीक्षणका क्रममा पाउडरको मात्रा भेटिएको तथा दही धेरैदिनको प्याकेजिङ गरिएको पाइएपछि उक्त दही नष्ट गरिएको जनाएको छ ।
अधिकृत दाहालका अनुसार यसअघि पनि पटक–पटक गरिएको अनुगमनमा सो डेरी उद्योगका खाद्यवस्तुमा गुणस्तर कमी देखिएको थियो । सुधार गर्न निर्देशन दिँदा समेत बेवास्ता गरिएकाले बाध्य भएर दही नष्ट गर्नुपरेको उनले बताए ।
अनुगमनका क्रममा दूधमा २५ प्रतिशतभन्दा बढी पानी मिसावट गरिएको समेत फेला परेको दाहालले जानकारी दिएका छन् । डेरी उद्योगमा सरसफाइको अभाव, दहीको न्यून गुणस्तर तथा बारम्बारको निर्देशनलाई बेवास्ता गरिएकाले अन्तिम पटक सुधारको मौका दिइएको र आगामी दिनमा पनि कमजोरी दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत उनले दिएका छन ।
त्यसैगरी टोलीले संजय दूध डेरी उद्योग, हेमा गाईभैँसी पालन दूध डेरी उद्योग, राजीव डेरी उद्योग, राधेकृष्ण डेरी उद्योग, जय सियाराम डेरी उद्योग तथा समृद्धि दुग्ध डेरी उद्योगलगायतमा पनि अनुगमन गरेको थियो। अनुगमनका क्रममा अन्य पक्ष सामान्य रहे पनि केही डेरीमा दूधमा २५ प्रतिशतसम्म पानी मिसावट गरिएको पाइएको जनाइएको छ।
अनुगमनका क्रममा पानीको मात्रा, न्युट्रोलाइज, युरिया लगायतको परीक्षण गरिएको थियो । पानीको मात्रा बाहेक अन्य परीक्षणमा भने गुणस्तर सन्तोषजनक रहेको टोलीले जनाएको छ ।
अनुगमन टोलीमा जनकपुर उद्योग वाणिज्य संघ, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालयका पदाधिकारी तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिकहरूको सहभागिता रहेको थियो ।

