जनकपुरधाम, २९ वैशाख । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुरधामस्थित गंगासागर क्षेत्र यतिबेला फोहरको थुप्रोले कुरुप बन्दै गएको छ । गंगासागर पोखरीको उत्तरी डिलमा जथाभावी फालिएको फोहरले यस क्षेत्रको धार्मिक गरिमा र सौन्दर्यमाथि नै प्रश्न उठाएको छ ।
शिवचोकदेखि कदमचोक जोड्ने सडकअन्तर्गत गंगासागरको उत्तरी डिल हुँदै दैनिक सयौं सर्वसाधारण आवतजावत गर्ने गर्दछन् । सोही डिलमा रहेको पिपलको रुख धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिन्छ । धर्मग्रन्थहरूमा विशेष महत्व दिइएको उक्त रुखमुनि नै स्थानीयवासीले विभिन्न प्रकारका फोहर थुपार्ने गरेका दृश्यले धार्मिक चेतना र नागरिक जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
एकातर्फ जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न तहबाट आवाज उठिरहेका छन् भने अर्कोतर्फ धार्मिक तथा ऐतिहासिक सम्पदालाई संरक्षण गर्नुको सट्टा फोहरमै परिणत हुन दिइनु विडम्बनापूर्ण देखिएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनको बहस चलिरहँदा यस्ता दृश्यप्रति सम्बन्धित निकायको मौनता झन् चिन्ताजनक बनेको छ ।
मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको प्रमुख प्रशासनिक तथा सुरक्षा निकाय-जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट केही मिटरको दूरीमै रहेको गंगासागर क्षेत्रमा यसरी फोहर थुप्रिनु सम्बन्धित निकायको उदासीनताको प्रत्यक्ष उदाहरण बनेको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित गंगासागरलाई स्वच्छ, व्यवस्थित र संरक्षणयुक्त बनाउनु स्थानीय सरकार, सरोकारवाला निकाय तथा नागरिक सबैको साझा दायित्व हो । अन्यथा, जनकपुरधामको पहिचान र गरिमामाथि यस्ता दृश्यले निरन्तर धक्का पु¥याइरहने निश्चित छ ।



