सिरहा १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा मधेश प्रदेशका पूर्वाधार, स्वास्थ्य, कृषि, खेलकुद, पर्यटन तथा खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मधेशका विभिन्न जिल्लामा रेल, रंगशाला, अस्पताल, सिँचाइ तथा धार्मिक पर्यटन प्रवर्द्धनका योजनालाई अघि बढाइने बताएका हुन् ।
सरकारले बर्दिबास–काठमाडौं द्रुतमार्गसँग जोडिने रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिने घोषणा गरेको छ । निर्माणाधीन बर्दिबास–विराटनगर रेलमार्गका लागि आवश्यक बजेट सुनिश्चित गरिएको छ भने जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्नसमेत बजेट विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधार विकासका लागि सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ । आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने बजेटमा उल्लेख छ ।
त्यसैगरी विराटनगर, लहान, काठमाडौं, पोखरा, सुर्खेत तथा धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमता भएका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ । साथै प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य पनि सरकारले अघि सारेको छ ।
स्वास्थ्य क्षेत्रतर्फ मधेश प्रदेशस्थित नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्यलाई तीव्रता दिइने भएको छ । मधेशमै मिर्गौला रोग उपचार केन्द्र तथा ट्रमा सेन्टर निर्माण सुरु गरिने सरकारको घोषणा छ । सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने व्यवस्था पनि बजेटमा समेटिएको छ ।
कृषि तथा सिँचाइतर्फ सिरहा–सप्तरीको आँप तथा सर्लाहीको गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । सतह सिँचाइ नपुगेका तराई–मधेशका ३ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सेवा विस्तार गर्न १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सर्लाही र धनुषामा स्मार्ट प्रविधिमार्फत भूमिगत सिँचाइ सेवा विस्तार गरिने सरकारको योजना छ ।
तराई–मधेशको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण, पोखरी निर्माण, पहिरो नियन्त्रण तथा तटबन्ध निर्माणका कार्यक्रम सञ्चालन गर्न करिब १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
खानेपानीतर्फ सुख्खा याममा हुने चरम अभाव समाधान गर्न सामुदायिक स्तरमा डिप बोरिङसहित खानेपानी आयोजना विस्तार गरिने भएको छ । ‘आर्सेनिक मुक्त तराई अभियान’ सञ्चालन गरिने तथा अधुरा रहेका २८० वटा खानेपानी आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको सरकारले जनाएको छ ।
पर्यटन तथा सांस्कृतिक क्षेत्रतर्फ जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइने भएको छ । जनकपुरलाई ‘विवाह गन्तव्य’ का रूपमा विकास तथा ब्रान्डिङ गर्ने योजना पनि बजेटमा समेटिएको छ । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
यस्तै सप्तरीको सखडा, धनुषाधाम तथा गढीमाई क्षेत्रलाई प्रादेशिक करिडोरका रूपमा विकास गरिने उल्लेख छ । मधेशका दलित तथा विपन्न बस्तीलाई लक्षित गर्दै नमुना होमस्टे सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।



