जनकपुरधाम, ५ असार । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ भव्य रूपमा मनाइएको छ ।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले योगलाई स्वस्थ जीवनको आधारका रूपमा व्याख्या गर्दै शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहन नियमित योग अभ्यास अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आधुनिक जीवनशैली, अनियमित खानपान तथा बढ्दो तनावका कारण नसर्ने रोगहरूको जोखिम बढ्दै गएको उल्लेख गरे। मानिसहरू विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित भइरहेकाले स्वस्थ जीवनयापनका लागि दैनिक जीवनमा योगलाई समावेश गर्न आवश्यक रहेको उनले बताए।
उनले विश्वभर योगप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गर्दै नेपालमा प्राचीनकालदेखि नै योग, ध्यान र प्राणायामको विशेष महत्व रहिआएको स्मरण गराए।
त्यसैगरी, मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले नियमित योग अभ्यासले मानसिक शान्ति, शारीरिक स्फूर्ति तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उनले पछिल्ला वर्षहरूमा मधेश प्रदेशमा योगप्रतिको जनचासो उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै विभिन्न दीर्घरोगको व्यवस्थापन र स्वास्थ्य सुधारमा योग प्रभावकारी रहेको अनुसन्धानहरूले पुष्टि गरिसकेको धारणा व्यक्त गरे।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिनाले भारत सरकारको प्रस्ताव तथा संयुक्त राष्ट्रसंघको समर्थनमा प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाइँदै आएको जानकारी दिए। योगले व्यक्तिलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सशक्त बनाउने भएकाले विश्वका विकसित राष्ट्रहरूमा समेत यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको उनले बताए।
विशेष योग कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




