जनकपुरधाम, २४ साउन । जनकपुरधामस्थित सिया मेडिकेयर प्रालिले आफ्नो सेवा विस्तार गर्दै दोस्रो वर्ष प्रवेशसँगै २४ घण्टे इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएको छ।
अस्पताल सञ्चालनमा आएको एक वर्ष पूरा भएको अवसरमा शनिबारदेखि इमर्जेन्सी सेवासहित प्रसूति, शल्यक्रिया, आईसीयू, एनआईसीयू र जनरल वार्डसमेत २४ घण्टा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक डा. राजीव झाले जानकारी दिए।
सिया मेडिकेयर २०८२ साल साउन २४ गतेदेखि सञ्चालनमा आएको हो। सुरुमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिँदै आएको अस्पतालले सेवाग्राहीको विश्वास र माग बढ्दै गएपछि सेवा विस्तार गरिएको डा. झाले बताए।
“गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै सेवाग्राहीको विश्वास जित्न सफल भएका छौँ। त्यसैलाई निरन्तरता दिँदै अब आकस्मिक सेवासहित अस्पतालका महत्वपूर्ण सेवा २४ घण्टा उपलब्ध गराउन थालेका छौँ,” झाले भने।
अस्पतालले सुरुदेखि नै आर्थिक रूपमा विपन्न, जेहेन्दार, दलित तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। सेवा विस्तारसँगै उक्त सुविधालाई पनि निरन्तरता दिइने डा. झाले बताए।
अस्पताल व्यवस्थापनका अनुसार २४ घण्टे इमर्जेन्सी सेवाले जनकपुरधाम तथा आसपासका क्षेत्रका बिरामीलाई आकस्मिक अवस्थामा तत्काल उपचार पाउने सुविधा थपिएको छ।



