जनकपुरधाम, २५ साउन । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउँदै आएका सप्तरीको शम्भुनाथ नगरपालिका–३, कचन्दाहाका राजु पासवानलाई ‘बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३’बाट पुरस्कृत गरिएको छ ।
सोमबार बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष, सप्तरीद्वारा आयोजित ‘३४औँ प्रकाश स्मृति दिवस’का अवसरमा पासवानलाई ११ हजार पाँच सय रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
इन्सेक मधेश प्रदेशका संयोजकसमेत रहनुभएका पासवान विगत दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय तथा समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार तथा पुनःस्थापना, कानुनी पैरवी र सामाजिक न्याय प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको हो ।
बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई एघारौँ पटकको पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

यसैगरी, ‘उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–०८३’ राजगढ गाउँपालिकाकी तथा हाल राजविराज नगरपालिका–६ मा बसोबास गर्दै आउनुभएकी शीलमदेवी झालाई प्रदान गरिएको छ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिलादेवी झाको स्मृतिमा स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि दुई हजार पाँच सय रुपैयाँ रहेको छ।
मैथिली महिला परिषद्को सिफारिसका आधारमा मैथिली भाषा, लोककला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लोकगायनमार्फत पु¥याउनुभएको योगदानको कदर गर्दै शीलमदेवी झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बैद्यनाथ झाले जानकारी दिनुभयो।



