जनकपुरधाम, २७ साउन । दलित महिलालाई लक्षित गरी जानकी महिला जागरण समाजले सञ्चालन गरेको जीवनोपयोगी सीप तथा जीविकोपार्जन सहयोग कार्यक्रम निकै महत्वपूर्ण रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले बताउनुभएको छ।
उहाँले विपन्न दलित महिलालाई उनीहरूको इच्छा र आवश्यकताअनुसार सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिम प्रदान गरी तालिमअनुसार जीविकोपार्जन गर्न सहयोग गर्नु सामान्य विषय नभएको बताउनुभयो। सहयोग रकमका हिसाबले थोरै देखिए पनि यसले एउटा परिवारलाई आयआर्जनको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
विपन्न दलित महिलालाई सिलाइ मेसिन तथा अन्य सामग्री वितरण गर्दै प्रमुख साहले जानकी महिला जागरण समाजले करिब १५ हजार रुपैयाँ बराबरका सामग्री वितरण गरेको भए पनि जनकपुर बजारमा सोही सामग्रीको मूल्य करिब २५ हजार रुपैयाँसम्म पर्ने बताउनुभयो। उहाँले पारदर्शी ढंगले र उचित मूल्यमा सामग्री खरिद गर्ने कार्य अन्य संघसंस्थाका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
प्रमुख साहले लक्षित विपन्न दलित महिलालाई सम्बोधन गर्दै आयआर्जनमा आत्मनिर्भर बन्दै जाँदा आफ्नो संस्कार र पारिवारिक मूल्य–मान्यतालाई नबिर्सन आग्रह गर्नुभयो। उहाँले सासु–ससुरा, श्रीमान् तथा परिवारका अन्य सदस्यप्रति पनि सम्मानभाव कायम राख्नुपर्ने बताउनुभयो।

कार्यक्रममा १२९ जना दलित महिलालाई सिलाइ मेसिन, कैँची, स्केल, धागो, रबर, इलेक्ट्रोनिक आइरन तथा झोलासहितका सामग्री वितरण गरिएको थियो। तालिम सम्पन्न गरेका कूल १८१ जना विपन्न दलित महिलालाई चरणबद्ध रूपमा उक्त सामग्री वितरण गरिएको जनाइएको छ।
स्ट्रिट चाइल्डको सहयोगमा जानकी महिला जागरण समाजले सञ्चालन गरेको उक्त जीविकोपार्जन कार्यक्रममा यसबाहेक करिब पाँच सय महिलालाई बाख्रा, सुँगुर, गाईपालन, किराना पसल सञ्चालन तथा अन्य व्यवसायका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ बराबरको सहयोगसमेत उपलब्ध गराइएको छ।
कार्यक्रममा लोरियल फन्ड फर वुमेन, कोर्टियर डोन्ज फाउन्डेसन, प्रो–सोलिडार फाउन्डेसन तथा फ्रेश लिफ फाउन्डेसनलगायत संस्थाको पनि सहयोग रहेको बताइएको छ।
कार्यक्रममा जानकी महिला जागरण समाजका अध्यक्ष मन्दा कर्ण, कार्यक्रम व्यवस्थापक विष्णु भण्डारीलगायत वक्ताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।




