कैलास दास
आम निर्वाचन २०७९ ले जनकपुरधाम उपमहानगरपालिकामा एक किसिमको नयाँ राजनीतिक माहोल सिर्जना ग¥यो । वाचा, योजना र विकासको सपना बोकेर मेयर पदका लागि भिडन्तमा उत्रिएका उम्मेदवारहरूले जनतासामु विकासको ग्यारेन्टीसहित प्रतिबद्धता–पत्र सार्वजनिक गरे । यी प्रतिबद्धता–पत्रहरू जनतालाई प्रभावित पार्ने माध्यम बने । तर, जब निर्वाचन सकियो, जनताले गरेको अपेक्षा र उम्मेदवारले दिएको प्रतिबद्धताबीचको दूरी दिन–प्रतिदिन बढ्दै गयो ।
निर्वाचनमा मेयर पदका लागि नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार साह, जसले हाल मेयरको जिम्मेवारी सम्हालिरहेका छन्, लगायत अन्य स्वतन्त्र उम्मेदवार बलराम महतो र जानकी राम साह समेत चुनावी मैदानमा थिए । त्यस्तै जनता समाजवादी पार्टीबाट तत्कालीन मेयर लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज कुमार चौधरी र तराई मधेश लोकतान्त्रिक पार्टीबाट बिभा ठाकुर पनि उम्मेदवार थिए । ती सबै उम्मेदवारको एउटै ध्येय थियो—जनकपुरधामको विकास । तर त्यो विकासको सपना कतै धूमिल बन्न पुगेको छ ।
निर्वाचनमा प्रतिबद्धताको वर्षा
चुनावी प्रचार–प्रसारका क्रममा उम्मेदवारहरू घर–घर पुगे, नगरबासीलाई आफ्ना वाचा सुनाए । हरेक वडाका चोक, गल्ली र भेला स्थलमा विकासको ग्यारेन्टी दिने भाषण गुन्जायमान भयो । जनतामा उम्मेदवारको भीडभाडले एक किसिमको अन्योलता पनि निम्त्याएको थियो—को योग्य, को अविश्वसनीय ? त्यसको कुनै स्पष्ट चित्र बनिरहेको थिएन ।
मनोज कुमार साहले २१ बुँदे प्रतिबद्धता–पत्र प्रस्तुत गरे, जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, पारदर्शिता, महिला सशक्तिकरणदेखि दलित तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्ने वाचा गरिएको थियो । जानकी राम साहले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरे भने बलराम महतोले १२ उपशीर्षकमा विभाजित दर्जनौं योजनासहितको प्रतिबद्धता पेश गरे । यी सबै दस्तावेजहरू प्रतिस्पर्धी थिए, र जनताले व्यक्तिमा होइन, वचनमा ध्यान दिन थाले ।

प्रतिबद्धता पत्र कागजमै सीमित
निर्वाचित मेयर मनोज कुमार साहको कार्यकालको अढाई वर्ष पुरा भइसकेको छ । यसबीच उनले प्रस्तुत गरेका २१ प्रतिबद्धता मध्ये कुनै पनि गहकिलो कार्यक्रम पूर्णरूपमा कार्यान्वयन भएको प्रमाण देखिदैन । जुन वाचा गरेर जनताको मत बटुले, ती अधिकांश सपना कागजमै सीमित छन् । उदाहरणका लागि, नगरभित्र बेरोजगारी समस्या समाधान, समुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, दलित, जनजाति तथा सीमान्तकृत समुदायको सशक्तीकरण, पारदर्शिता कायम गर्ने विषय आजसम्म व्यवहारमा ल्याउन सकेको पाइँदैन ।
जनकपुरधामको समाजिक, भौतिक, आर्थिक र पर्यटकीय विकासका लागि ती प्रतिबद्धता ठूला ढंगले प्रस्तुत गरिए तापनि आजसम्म सहरको स्वरूपमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । न खानेपानी, न सडक सञ्जाल, न फोहोरमैला व्यवस्थापन—सबैजसो क्षेत्रमा प्रगति न्यून छ ।
राजनीतिक स्वार्थ र दलमा फर्कने निर्णय
निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मनोज साहको पहिलो कदम नै आलोचना योग्य बन्यो—निर्वाचित भएपछि पुनः नेपाली काँग्रेसमा फर्कनु । जनताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको विश्वास र आशामा धोका भयो । राजनीति गर्नु, विचार परिवर्तन गर्नु लोकतान्त्रिक अधिकार हो तर, मत माग्दा एउटा रूप देखाएर जितेपछि अर्को रूपमा देखा पर्नु नैतिक संकट हो । यो निर्णयले जनतालाई भ्रममा पारेको छ ।
विपक्षमा बसेकाको मौनता
चुनावी मैदानमा उत्रिएका अन्य उम्मेदवारहरूले पनि चुनावसम्म मात्रै सक्रियता देखाएका छन् । निर्वाचनमा हारजित हुनु स्वाभाविक हो, तर पराजित भएपछि पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनु आवश्यक हुन्छ । तर, तीमध्ये अधिकांश गौन बसेका छन्, जनकपुरधामको विकासबारे बोलेका छैनन्, कुनै दबाव सिर्जना गरेका छैनन् । यसको अर्थ के लगाउन सकिन्छ ? के उनीहरूको उद्देश्य सत्तामा पुग्नेसम्म सीमित थियो ? यस्तो मौनता स्वयंले बोलेको वाचाको खिल्ली उडाउनु हो ।
विकासका लागि राजनीतिक इच्छाशक्ति आवश्यक
जनकपुरधामको जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक शहरको विकास रणनीति योजनाबद्ध, सहभागितामूलक र पारदर्शी हुनुपर्ने हो । सहरको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्ने दिगो नीति आवश्यक छ । शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य सेवामा सुधार, फोहोर व्यवस्थापन, सडकको मर्मत, रोजगार सिर्जना, पर्यटन प्रवद्र्धन, महिला र सीमान्तकृत समुदायको सशक्तीकरणजस्ता विषयमा गम्भीरता अपेक्षित छ । तर, यस्ता ठोस नीतिहरूको कार्यान्वयन नहुनु राजनीतिक इच्छाशक्तिको कमी हो ।
जनताको भोलिभन्दा वर्तमानप्रतिको जागरुकता आवश्यक
मतदाता सचेत नभएसम्म, केवल भाषण र वाचा सुनेर मतदान गरिरहँदा, यस्ता समस्या फेरि–फेरि दोहोरिन्छन् । निर्वाचनको समयमा मात्र देखा पर्ने उम्मेदवारलाई उत्तरदायी बनाउने दवाव जनताबाटै सिर्जना हुनुपर्छ । विकासका लागि निर्वाचित हुनु मात्र होइन, जनदबाव र निगरानी पनि उत्तिकै आवश्यक हुन्छ । जनताले आफ्नो मतको मूल्य बुझ्नुपर्छ, र सधैं सजग रहनुपर्छ कि त्यो मत कहाँ, किन, र कसका लागि प्रयोग गरिँदैछ ।
जनकपुरधामको निर्वाचन २०७९ ले धेरै आशा जगाएको थियो । उम्मेदवारहरूका प्रतिबद्धता–पत्रहरूले विकासको ठूलो सपना देखाएका थिए । तर, ती सपना अझै सपनामै सीमित छन् । निर्वाचित मेयरको निष्क्रियता, दल परिवर्तन, अनि पराजित उम्मेदवारहरूको मौनताले जनताको विश्वासमा दरार पारेको छ । अब समय आएको छ—वाचा गर्ने, जिम्मेवारी लिने र नतिजा देखाउने संस्कृतिको विकास गर्ने । विकास भाषणले होइन, व्यवहारले सम्भव हुन्छ । जनता जागरुक नभएसम्म परिवर्तन सम्भव छैन । राजनीति केवल सत्ताको खेल होइन, जनताको जीवनस्तर उकास्ने माध्यम पनि हो भन्ने बोध राजनीतिज्ञमा हुनु जरुरी छ । अनि मात्र जनकपुरधाम साँच्चिकै गौरवशाली, समृद्ध र सुसंस्कृत शहर बन्न सक्छ ।



