काठमाडौं ४ असार । चिनियाँ सुरक्षाकर्मीबाट प्राप्त सूचनाका आधारमा सिन्धुपाल्चोक र काभ्रे जिल्ला प्रशासन कार्यालयहरूले असार ७ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेका छन् । तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाउँदै, भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनिएको हो ।
सिन्धुपाल्चोक प्रशासनले भोटेकोशी, बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र चौतारा साँगाचोकगढी क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन् ।
यसैगरी काभ्रे प्रशासनले पनि भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रलाई संवेदनशील क्षेत्र मानेर सतर्कता अपनाउन भनेको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अत्यधिक वर्षाले बस्तीमा जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन जरुरी भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, तातोपानी सीमा क्षेत्रमा खटिएका चिनियाँ सुरक्षाकर्मीहरूबाट वर्षाको सूचना सशस्त्र प्रहरीमार्फत प्राप्त भएको हो । नेपाल र चीनबीच सीमावर्ती सूचना आदान–प्रदान हुने व्यवस्था अनुसार नै सतर्कता जारी गरिएको जनाइएको छ ।

