जनकपुरधाम, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ठाकुरमाथि बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्कारपियो गाडी खरिद र बिक्री प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ। आयोगका अनुसार, उनले गाडी खरिद गर्दा सार्वजनिक निकायको प्रक्रिया नअपनाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेका थिए।
मुद्दामा समावेश अन्य प्रतिवादीहरूमा ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादव, कोषाध्यक्ष बविता देवी साह तथा ठेकेदार जितेन्द्रकुमार यादव रहेका छन्।
आयोगले प्रत्येक प्रतिवादीविरुद्ध फरक–फरक बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। जसअनुसारः
– बलराम ठाकुर विरुद्ध रु ५१ लाख ७१ हजार ८४४,
– श्रीमती इन्दुलेखा ठाकुर विरुद्ध रु ४५ लाख २२ हजार ८४५,
– लेखापाल सावित्री गिरी विरुद्ध रु ३० लाख ७२ हजार ८४४,
– प्रशासकीय अधिकृत शर्मा विरुद्ध रु १० लाख १ हजार ८७६,
– कम्प्युटर अधिकृत सिंह विरुद्ध रु १४ लाख ९९ हजार,
– उपभोक्ता समिति अध्यक्ष र कोषाध्यक्ष विरुद्ध रु २० लाख ९९ हजार,
– ठेकेदार जितेन्द्रकुमार यादवविरुद्ध पनि फरक बिगो माग गरिएको छ।
ठाकुर २०७५ मंसिर ५ गतेदेखि २०७९ मंसिर ४ गतेसम्म परिषद्को कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उक्त अवधिमा उनले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा परिषद्को रकमबाट स्कारपियो गाडी खरिद गरेको आरोप छ। झन, गाडी खरिदका लागि पहिलो किस्ता तिरेको एक वर्षपछि उनले गाडी आफ्नी श्रीमतीको नाममा नामसारी गराएका थिए, जसले गम्भीर अनियमितताको संकेत गर्दछ। अख्तियारले यस प्रकरणमा सार्वजनिक पदको दुरुपयोग गर्दै सरकारी स्रोतको निजी लाभमा प्रयोग गरिएको पुष्टि भएको दाबी गर्दै कारबाहीको मागसहित मुद्दा अघि बढाएको छ।

