जनकपुरधाम, ९ असार । प्रतिनिधिसभामा स्वतन्त्र सांसद अमरेश कुमार सिंहको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै सदनमा हंगामा मचेको छ । आइतवार बजेटमाथिको छलफलका क्रममा सिंहले देशका अधिकांश जिल्लामा बजेट नदिइने हो भने ती जिल्लाहरूलाई ’लिज’ (भाडामा) दिँदा उपयुक्त हुने भन्दै टिप्पणी गरेपछि संसद्मा चर्चा र विरोधको लहर चल्यो ।
सांसद सिंहले भने, “नेपालका चार÷पाँच जिल्ला बाहेक बाँकी जिल्लामा बजेट विनियोजन नगर्ने हो भने सिधै अरू कुनै देशलाई लिजमा दिए पनि हुन्छ ।” उनको यस्तो भनाइप्रति सांसदहरू आक्रोशित बनेका थिए । खासगरी प्रमुख नेताहरूका जिल्लामा मात्र बजेट केन्द्रित गरिएको भन्दै उनले खर्च कटौतीको विरोधमा यस्तो धारणा राखेका थिए ।
उनको भनाइले सदनमा तत्कालै प्रतिक्रिया ल्यायो । विभिन्न दलका सांसदहरूले यस्तो गैरजिम्मेवार अभिव्यक्ति संसद्को गरिमा विपरित भएको टिप्पणी गर्दै सिंहको अभिव्यक्तिको खण्डन गरे । कतिपय सांसदहरूले सदनको कार्यसूची रोक्दै आपत्ति जनाए ।
सांसद सिंहको अभिव्यक्तिबाट मधेश लगायतका विकासका पाटोमा राज्यको उपेक्षा भएको संकेत गर्दै बजेट विनियोजनमा व्यापक असमानता रहेको कुरा उजागर भएको विश्लेषकहरूको ठम्याइ छ । तर, ‘लिज’ जस्तो गम्भीर शब्दको प्रयोगले अभिव्यक्ति स्वतन्त्रताको सीमा पार गरेको हो कि भन्ने बहस पनि उठेको छ ।
सांसद सिंहले भने, “हामी जनताको प्रतिनिधि हौं, तर हामी बोल्ने ठाउँमा पनि अपमानित हुनुपर्ने हो भने यसको औचित्य के रहन्छ?” उनले पछि भने, आफूले जनतामाथिको विभेद देखाउँदै व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेको बताउँदै स्पष्टीकरण पनि दिएका छन् ।

