वीरेन्द्र कर्ण
जनकपुरधाम, १९ असार । ’अन्नको भण्डार’ मानिने मधेश प्रदेशका आठ जिल्लामध्ये हालसम्म पाँच जिल्लामा मात्र ४८.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ। नियमित वर्षा नहुँदा धान रोपाइमा ढिलाइ भएको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ।
निर्देशनालयका अनुसार धनुषामा १० प्रतिशत, सिरहामा ५ प्रतिशत, बारामा ११ प्रतिशत, पर्सामा ६.२ प्रतिशत र रौतहटमा १६ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ।
धनुषामा ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जमिनमध्ये ४३ हजार ७०० हेक्टरमा मात्रै धान खेती हुने गर्छ। यहाँ हालसम्म १० प्रतिशत अर्थात् ४ हजार ३७० हेक्टरमा मात्र रोपाइ भएको छ।
सिरहाको कुल खेतीयोग्य क्षेत्रफल ७३ हजार ९१४ हेक्टर हो, जसमा ५४ हजार हेक्टरमा मात्र धान खेती हुन्छ। हालसम्म यहाँ ५ प्रतिशत अर्थात् २ हजार ७ हेक्टरमा रोपाइ सम्पन्न भएको छ। बारामा ६९ हजार ९६३ हेक्टर खेतीयोग्य जमिनमध्ये ४६ हजार २० हेक्टरमा धान खेती हुन्छ। यहाँ ११ प्रतिशत अर्थात् ५ हजार ६२२ हेक्टरमा रोपाइ सम्पन्न भएको छ।
पर्सामा ५४ हजार ४०६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ४३ हजार ४१३ हेक्टरमा धानखेती सम्भव छ। त्यहाँ हालसम्म ६.२ प्रतिशत अर्थात् २ हजार ७१३ हेक्टरमा धान रोपाइ भएको छ।
रौतहटमा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जमिनमध्ये ३५ हजार हेक्टरमा मात्रै धान खेती हुने गर्छ। यहाँ हालसम्म १६ प्रतिशत अर्थात् ५ हजार ६ हेक्टरमा रोपाइ सम्पन्न भएको छ। मधेशका बाँकी तीन जिल्ला—सप्तरी, सर्लाही र महोत्तरीको रोपाइको अवस्था अझै प्राप्त नभएको निर्देशनालयका बाली विकास अधिकृत सुदीप चौधरीले बताए। ती जिल्लाबाट कृषि ज्ञान केन्द्रले विवरण नपठाएको कारण त्यहाँको स्थिति यकिन गर्न नसकिएको उनले बताए। उनका अनुसार समयमा पानी नपरेका कारण कतिपय जिल्लामा रोपाइ ढिलाइ भएको हो। किसानहरू अहिले पनि वर्षाको प्रतीक्षामा छन्।

