जनकपुरधाम, २२ असार। सौन्दर्य र प्रतिभाको सम्मान गर्ने नेपालकै प्रतिष्ठित प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। प्रतियोगिता आयोजना गर्दै आएको संस्था दि हिडेन ट्रेजर ले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर यसपटकको संस्करणलाई अझ भव्य बनाउन विशेष तयारी गरेको छ।
जनकपुरधाममा सोमवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा विस्तृत जानकारी दिँदै १८ देखि २७ वर्ष उमेर समूहका देश तथा विदेशमा रहेका नेपाली युवतीहरूलाई आवेदन दिन आग्रह गरिएको छ। सहभागिका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ। आवेदन निःशुल्क हुनेछ भने अन्तिम म्याद २०८२ असार २६ गते (२०२५ जुलाई १०) सम्म रहनेछ।
अन्तिम अडिसन २०८२ असार २८ गते (२०२५ जुलाई १२) काठमाडौंमा हुने जनाइएको छ। अडिसनबाट छनोटमा परेका युवतीहरूले ग्रामिण र विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।

फिनाले कार्यक्रम २०८२ भदौ १४ गते (२०२५ अगस्ट ३०) शनिबार, गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ। प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र पहिलो पटक मिस नेपाल कोस्मो गरी चार जना विजेता छानिनेछन्।
नेपालले यसपटक पहिलो पटक मिस कोस्मो इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
मिस नेपाल २०२५ को खोजीका लागि विर्तामोड, जनकपुर, नेपालगञ्ज लगायत विभिन्न शहरहरूमा अडिसन र प्रचार अभियान सञ्चालन गरिनेछ। साथै, काठमाडौंका १० वटा कलेजमा पनि मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
यसपटक प्रतियोगिताका सह–प्रायोजकमा बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्स रहेका छन्। आयोजकले दुवै संस्थालाई विशेष धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथको अपेक्षा गरेको छ।



