काठमाडौं, २७ असार । सरकारसँग भएको छ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीहरूले महिनादेखिको आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित भएसँगै शुक्रबार (२८ असार) बाट देशभरका सुनचाँदी पसल पुनः नियमित रूपमा सञ्चालनमा आउने नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेपछि व्यवसायीहरू असन्तुष्ट हुँदै आन्दोलनमा उत्रिएका थिए । करको असर उपभोक्ता र व्यवसायी दुवैमा पर्ने भन्दै उनीहरूले कर फिर्ता गर्न माग गर्दै एक महिनादेखि पसल बन्द गरेका थिए । त्यस अवधिमा सुनचाँदीको मूल्य निर्धारणसमेत हुन सकेको थिएन ।
विहीबार अर्थ मन्त्रालयमा सरकार र व्यवसायीबीच भएको वार्तापछि आन्दोलन स्थगन गर्ने निर्णय गरिएको हो । सहमति अनुसार, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा गहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न एक कार्यदल गठन गरिनेछ । सो अध्ययन प्रतिवेदन नआउन्जेलसम्म बजेटमा प्रस्तावित कर र भ्याट लागू नगर्ने सहमति भएको द्वितीय उपाध्यक्ष बज्राचार्यले जानकारी दिए । तर उक्त सहमति पत्रमा यो बुँदा स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।सहमतिअनुसार, सुनचाँदीको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न कानुनी व्यवस्था स्पष्ट बनाउने, स्थानीय सुनचाँदी तथा रत्न आभूषणको पहुँच सुनिश्चित गर्दै नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्ने, वाणिज्य बैंकमार्फत सुन उपलब्ध हुने व्यवस्था गर्ने तथा “सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८” को प्रभावकारी कार्यान्वयन र आवश्यक संशोधन गर्ने विषयमा पनि सहमति भएको महासंघले जनाएको छ ।
व्यवसायीका समस्या समाधान तथा कर–भ्याटका विषयमा अध्ययन गर्न गठित कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहने छ ।सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारलगायतले हस्ताक्षर गरेका छन् ।
वार्तामा पूर्वमन्त्रीहरू छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्माको सहभागिता रहेको थियो । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका अध्यक्ष विपेन्द्र रामुदामु, महासंघका पूर्वअध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्य, महासचिव निरबहादुर विश्वकर्मा, कोषाध्यक्ष सुदीप श्रेष्ठ, संघर्ष समितिका सदस्य रामप्रसाद विश्वकर्मा र नेपाल रत्न तथा आभूषण महासंघका प्रतिनिधि प्रसुन जालान पनि वार्तामा सहभागी थिए ।

