जनकपुरधाम ३० असार । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट सोमबार सर्वसम्मत रूपमा पारित गरिएको छ।
प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि मात्रै सञ्चालनमा आएको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले प्रस्तुत गरेको विनियोजन विधेयक प्रतिपक्षीको अनुपस्थितिमा सर्वसम्मत पारित भएको हो।
अर्थमन्त्री यादवले सदनमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेपछि असहमतिको आवाज नआएको भन्दै सभामुख रामचन्द्र मण्डलले विनियोजन विधेयक पारित भएको घोषणा गरेका थिए।

प्रदेशसभामा रहेका १० मध्ये जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा छन् भने बाँकी ६ दल — जनता समाजवादी पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी प्रतिपक्षमा रहेका छन्।
अर्थमन्त्रीले असार १ गते बजेट प्रस्तुत गरेयता विभिन्न कारणले बारम्बार बैठक अवरुद्ध हुँदै आएको थियो। सोमबार प्रतिपक्षीहरूको बहिष्कारकाबीच मन्त्रालयगत छलफल सकिएपछि संबद्ध मन्त्रीहरूले जवाफ दिएको बैठकमा बजेट विधेयक पारित गरिएको हो।



