जनकपुरधाम ५ साउन । जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी युवकलाई हत्या गरेको आरोपमा युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा टोल निवासी ३२ वर्षीय विमलेश यादवको हत्याको अभियोगमा २१ वर्षीया जुली झालाई नियन्त्रणमा लिएको बताइएको छ ।
झा महोत्तरीको बनौटा घर भएकी हुन् भने हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन् ।
साउन ३ गते राति १०:०२ बजे यादव जनकपुरधाम उपमहानगरपालिका–२३ मा अवस्थित ‘होटेल एसपी एण्ड गेस्ट हाउस’ को कोठा नं. १०२ मा प्रवेश गरेका थिए । उनी बा ४५ प ४९८६ नम्बरको मोटरसाइकलमा सवार भई अभियुक्तसँगै होटल प्रवेश गरेको सिसिटीभीमा देखिएको छ । होटलमा उनले “शनि यादव“ नाम उल्लेख गरी कोठा बुक गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोही रात २ः५७ बजे विमलेश यादव होटलको पहिलो तल्लाबाट रगताम्य अवस्थामा भुइँमा खसेका थिए । त्यसको केही समयमै अभियुक्त जुली झा कुर्ता–सुरुवालमा, खुट्टा नांगै, भुइँतर्फ झरेर भाग्दै गरेको दृश्य होटलको सीसीटीभीमा स्पष्ट देखिएको जनाइएको छ ।
घटनापछि तत्कालै खटिएको जिरोमाइल प्रहरी टोलीले गम्भीर घाइते अवस्थामा रहेका यादवलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो, जहाँ उपचारको क्रममा बिहान ७:४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा जुली झालाई सोही दिन दिउँसो १२:०० बजे महोत्तरीको परौल क्षेत्रमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । दुबैजनाबीच प्रेम सम्बन्ध रहेको पहिलो अनुसन्धानबाट खुल्न आएको छ ।



