जनकपुरधाम, ८ भदौ। धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिका लागि ख्यातिप्राप्त जनकपुरधाममा यस वर्ष पनि गणेश पूजनोत्सवको भव्य तयारी भइरहेको छ। हरेक वर्ष झैँ यसपटक पनि गणेश युवा कमिटीले उत्सवलाई भव्य एवं आकर्षक बनाउन विशेष पहल अघि सारेको छ।
कमिटीका अध्यक्ष सन्तोष कुमार महतोका अनुसार, जनकपुरधाम उपमहानगरपालिकाभर गणेश पूजनोत्सव हर्षोल्लासका साथ मनाइने परम्परा रहेको छ। चार दिनसम्म चल्ने यस महोत्सवमा हजारौंको संख्यामा श्रद्धालुहरूले पूजा–अर्चना, दर्शन तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गर्दछन्।

यस उत्सवको विशेषता भनेकै यसलाई महिलाहरूको तीज पर्व र चौठचन्द्रसँग एकैपटक मनाइने परम्परासँग जोडिनु हो। अध्यक्ष महतोले भने, “धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा यो कमिटीले निरन्तर योगदान दिंदै आएको छ। प्रत्येक वर्ष पूजनोत्सवलाई नयाँ शैली र भिन्न आकर्षणका साथ मनाउने हाम्रो प्रयास रहन्छ।”
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामचोकमा स्थापना गरिएको भव्य गणेश मन्दिर यस पर्वको प्रमुख केन्द्रबिन्दु हो। केही वर्षअघि निर्माण गरिएको यस मन्दिरले न केवल स्थानीय भक्तजनलाई, तर देश–विदेशका आगन्तुक पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ।
चार दिनसम्म चल्ने यस उत्सवमा धार्मिक पूजापाठसँगै सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, समाजसेवी गतिविधि र सामुदायिक भेटघाट हुने जनाइएको छ। यसले सामाजिक एकता र धार्मिक सौहार्दलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
कमिटीले नगरवासी, श्रद्धालु तथा पर्यटक सबैलाई यसपटकको गणेश पूजा, चौठचन्द र तीज पर्व एकैसाथ अनुभव गर्न आग्रह गर्दै उपस्थित भएर उत्सवलाई सफल बनाउन अनुरोध गरेको छ।

