जनकपुरधाम । धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरधाम अहिले तीज र चौठचन्द्र पर्वका व्रतालु महिलाको चहलपहलले भरिभराउ छ। हातमा पूजाको थाली बोकेर शिव–पार्वती र चन्द्रमा पूजामा सहभागी महिलाको भीड विहानैदेखि सरोवर र मठ–मन्दिरमा देखिन्छ। यो दृश्य नारीशक्ति र सांस्कृतिक संरक्षणको प्रतीक बनेको छ।
तीज, चौठचन्द्र र गणेश पूजनोत्सवमा अधिकांश व्रतालु महिला नै हुन्छन्। सन्तान प्राप्ति, पुत्रको दीर्घायु, पारिवारिक सुख–समृद्धि र स्वास्थ्य–आरोग्य यी व्रतहरूको मूल उद्देश्य हुन्। जनकपुरधाम धार्मिक नगरी भएकाले यहाँ वर्षभर व्रत–पर्व चलिरहन्छ। यसैबीच तीज व्रतालु महिलाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको छ, जसले शहरलाई अझै उत्साहपूर्ण बनाएको छ।
तीज : नारी आत्मबल र सामूहिकताको पर्व
तीज र चौठचन्द्र दुबै पर्व नारीसँग प्रत्यक्ष सम्बन्धित छन्। यी पर्वहरूले स्त्री–जीवन, परिवार र समाजलाई जोड्ने मात्र होइन, संस्कृतिको निरन्तरता र धार्मिक–सामाजिक ऐक्यबद्धताको अद्भुत प्रतीक पनि बनेका छन्।
पहिला तीजलाई पहाडी समुदायमा मात्र विशेष चहलपहलका साथ मनाइन्थ्यो, तर अब यो पर्व मिथिला–मधेशमा पनि श्रद्धा र उल्लासका साथ स्थापित भइसकेको छ। भाद्र महिनाको तृतीय तिथिमा मनाइने तीजलाई शिव–पार्वतीको मिलन दिवसका रूपमा स्मरण गरिन्छ। महिलाहरू हरितालिका पूजा गरी हरियो साडी, चूडी, पोते लगाएर सौन्दर्य र श्रद्धाको संगम प्रस्तुत गर्छन्।
तीज केवल धार्मिक अनुष्ठान मात्र होइन, नारी आत्मबल, पीडा र उल्लास उजागर गर्ने अवसर हो। विवाहिता महिलाले पतिको दीर्घायु र पारिवारिक सुखको कामना गर्दै उपवास गर्छन्। तीजका गीतहरू प्रायः नारीका संघर्ष, व्यथा र सपना बोकेका हुन्छन्।
साउन महिनादेखि नै तीजको तयारी थालिन्छ। बजारहरू हरियो चूडी, रिबन, साडी, मेहन्दीले रङ्गिन्छन्। यस पर्वले महिला उद्यमशीलतालाई पनि प्रोत्साहन गरेको छ, किनकि यस अवसरमा श्रृंगार सामग्री र कपडाको व्यापार उल्लेखनीय रूपमा बढ्छ।
चौठचन्द्र : मातृत्व र समृद्धिको कामना
तीजपछि आउने अर्को महत्वपूर्ण पर्व हो चौठचन्द्र, जसलाई मिथिला भाषामा ‘चौरचन’ भनिन्छ। भाद्र महिनाको चतुर्थी रातमा विवाहित महिलाले परिवार र सन्तानको दीर्घायु तथा समृद्धिको कामनासहित यसलाई मनाउँछन्।
यस दिन महिलाले दिनभर उपवास गर्छन् र बेलुकी चन्द्रमा उदाएपछि विशेष विधिपूर्वक पूजा गर्छन्। बाँस–माटोका सूपा, डलिया, पकवान, पूरि–कचौरी, दही–चिउरा राखेर पूजा गर्ने परम्परा छ। चन्द्रमालाई अघ्र्य अर्पण गरी परिवारलाई प्रसाद बाँडिन्छ।
मिथिलामा चौरचनलाई कृषि–जीवनसँग पनि जोडिएको पाइन्छ। आफ्नै खेतको चामल, गहुँको पीठो, करेसाबारीका फलफूल–तरकारी पूजामा प्रयोग हुन्छन्। सहज र स्वाभाविक रूपमा मनाइने यस पर्वमा राजा–रङ्क सबै समान हुन्छन्।
पूजा विधान
भाद्र शुक्लपक्षको चौथी तिथिमा मनाइने यस पर्वमा महिलाले निराहार बस्छन्। साँझ चन्द्रमा उदाउनु अघि आँगनमा अरिपन बनाई पूजा सामग्री सजाइन्छ। कलशमा दियो र जल राखिन्छ। चन्द्रमा उदाएपछि महिलाले खिरा वा फल हातमा लिएर दर्शन गर्छन्, मनका संकल्पहरू दोहोर्याउँछन् र पूजाको समापन गर्छन्। प्रत्येक परिवारमा घरदेवतालाई पूजा गर्ने परम्परा पनि यसै दिनसँग जोडिएको छ।
सांस्कृतिक सन्देश
मधेशका यी दुवै पर्वले नारीलाई केन्द्रमा राख्छन्। तीजले वैवाहिक जीवनमा विश्वास र समर्पणलाई बल दिन्छ भने चौठचन्द्रले मातृत्व र पारिवारिक उत्तरदायित्वलाई प्राथमिकता दिन्छ। यी पर्वहरूले नारीको भावना, श्रम र संस्कृतिलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइरहेका छन्।
यद्यपि आधुनिकतासँगै महँगा कपडा, गहना र बाह्य आडम्बरले मौलिकता हराउने डर बढेको छ। तर यसका बाबजुद पनि तीज र चौरचनले मधेशी समाजलाई एउटै धागोमा बाँध्ने, स्त्री–जीवनलाई सम्मान गर्ने र सांस्कृतिक पहिचानलाई जीवित राख्ने कार्य गरिरहेका छन्।
यी पर्व केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, नारी शक्ति, सामूहिकता, सृजनशीलता र संस्कृतिप्रतिको आस्थाको जीवित प्रतीक हुन्। आधुनिकताको प्रवाहमा पनि यी पर्वले आफ्नो मौलिकता जोगाइरहून्—यही नै मधेशी समाजको सामूहिक कामना हो ।

