जनकपुरधाम, २२ भदौ । भाद्र पूर्णिमाको अवसरमा जनकपुरधामस्थित गंगासागर पोखरीमा पितृ तर्पण गर्ने भक्तजनको ठूलो भीड लागेको छ । विहानैदेखि नेपाल र भारतका विभिन्न स्थानबाट आएका सयौं भक्तजनले गंगासागरमा आस्था प्रकट गर्दै पितृ तर्पण गरेका छन् ।
मैथिल परम्परा अनुसार भाद्र पूर्णिमाकै दिन ‘देवर्षि पितृ तर्पण’ गरी पितृपक्षको सुरुवात गर्ने चलन छ । महोत्तरी बर्दिबास–२ का पण्डित महेशकुमार झाका अनुसार भाद्र शुक्ल चतुर्दशीमा ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर देवर्षिलाई तर्पण दिने परम्परा पुरानो मैथिली संस्कार हो । यही परम्पराअनुसार आज गंगासागरमा देवर्षि तर्पणपछि पितृपक्षको प्रारम्भ भएको छ ।
यस अवसरमा दिवङ्गत स्वजनलाई सम्झने विधिअन्तर्गत दुई किसिमका श्राद्ध गरिन्छ – ‘पार्वण’ र ‘एकोपार्वण’। पार्वण श्राद्धमा आफ्ना घर र मावलीका तीन पुस्ता, अन्य आफन्त तथा गुरुहरूलाई पिण्ड अर्पण गर्ने प्रचलन छ । त्यस्तै पितृपक्षमै दिवङ्गत भएकालाई तिथिअनुसार गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ ।

जनकपुरधामको गंगासागरसँगै महोत्तरी, धनुषा र रौतहटका विभिन्न धार्मिक जलाशयहरूमा पनि भक्तजनको भीड देखिएको छ । जलेश्वरस्थित भार्गवसर, मटिहानीको लक्ष्मीसागर, रातु र मरहा नदी तटलगायतका स्थानमा सामूहिक तर्पण गरिएको छ । यी स्थलमा एकै पुरोहितले सामूहिक सङ्कल्प पढेर भक्तजनलाई तर्पण गराउँछन् ।
पितृपक्षलाई मैथिली बोलीचालीमा ‘पितरपक्ष’ वा ‘सोह्रश्राद्ध’ भनिन्छ । यस अवधिमा पितृहरू स्वर्गलोकबाट पृथ्वीमा ओर्लेर सन्तानले अर्पण गरेको तर्पण र पिण्ड ग्रहण गर्छन् भन्ने विश्वास छ । राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड शिक्षक शोभाकान्त झाका अनुसार यही कारणले पितृपक्षमा विशेषतः तीर्थस्थलमा श्राद्ध गर्ने परम्परा प्रचलित छ ।
गंगासागरमा आएका भक्तजनले आज देवर्षि, कूलदेवता र ग्रामदेवताहरूलाई तर्पण गरेपछि भोलिदेखि असोज कृष्णपक्ष प्रतिपदादेखि १५ दिनसम्म आफ्ना पितृलाई श्राद्ध दिनेछन् । मिथिलामा यस अवधिभर पितृको नाममा पिण्डदान र तर्पण गर्दा आगामी दशैँ, तिहार र छठजस्ता पर्व निर्विघ्न सम्पन्न हुने तथा पारिवारिक सुख–शान्ति मिल्ने विश्वास गरिएको छ ।
यसरी भाद्र पूर्णिमासँगै सुरु भएको पितृपक्षमा गंगासागरलगायत मिथिलाका जलाशयहरूमा दैनिक पितृ तर्पण गर्ने भक्तजनको घुइँचो लाग्ने देखिन्छ ।

