काठमाडौं १ असोज । जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरी ठूलो मानवीय र भौतिक क्षतिको सामना गरेको छ। २३ भदौमा ठूलो क्षति नभए पनि २४ भदौको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ ठूलो क्षति भएको हो।
पहिलो दिन केही प्रहरी सामान्य घाइते भए। तर प्रदर्शनकारीको आक्रमणमा नयाँ बानेश्वर र सुनसरीमा २१ जनाको मृत्यु भयो। प्रदर्शनकारीहरूले एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए। त्यसपछि जिल्ला प्रशासनले कफ्र्यू लगाएर सेना परिचालन गर्यो।
दिउँसैदेखि भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर रह्यो। प्रहरीहरू ज्यान बचाउन कार्यालय छोड्न बाध्य भए, कतिले बर्दी फुकालेर आत्मसमर्पण पनि गरे।
देशभर नेपाल प्रहरीका करिब ४४५ कार्यालयमा तोडफोड र आगजनी भयो। १९७ कार्यालय पूर्ण रूपमा ध्वस्त भए भने २५८ कार्यालयमा आंशिक क्षति भएको छ। उपत्यकामा मात्र १५३ प्रहरी कार्यालय प्रभावित भए।
प्रदर्शनकारीहरूले प्रहरी भवन तोडफोडसहित गाडी जलाए र हतियार पनि लुटे। करिब ११०० थान हतियार लुटिएको छ, जसमध्ये ३०० नेपाली सेनाले बरामद गरेको छ। पेस्तोल, बन्दुक, ग्यास गनजस्ता हतियार लुटिएका छन्।
देशभर १ हजार ९६३ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात घर फर्किसकेका छन् भने २४ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनको क्रममा तीन प्रहरीको मृत्यु भएको छ।
हालसम्म प्रहरी र प्रदर्शनकारी दुवैतर्फ मृत्यु हुनेको संख्या ७४ पुगेको छ।

