जनकपुरधाम, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनुषाले दशैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
धनुषा जिल्ला अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थाई कमिटी सदस्य रामचन्द्र झाले प्रमुख अतिथिको रुपमा सहभागी भई देशको राजनीतिक परिस्थिति र आसन्न निर्वाचनको तयारीबारे आफ्ना धारणा राख्नुभयो ।

उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका सबै तहका कार्यकर्तालाई तयार रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी सदैव जनताको हित र अधिकारका पक्षमा उभिएको छ । नेपाली जनताले अहिले परिवर्तन र स्थायित्वको चाहना गरेका छन्, त्यसैले हामी निर्वाचनबाट पछि हट्ने पक्षमा छैनौं । पार्टीका सबै कार्यकर्ताले निर्वाचनलाई अभियानको रूपमा लिएर तयारीमा जुट्नुपर्छ ।”
हाल देश विभिन्न संकट र अनिश्चिततामा फसेको उल्लेख गर्दै त्यसबाट निस्कनका लागि राष्ट्रिय एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । “मुलुकमाथि आएको संकटको घडीमा जनता नै हाम्रो शक्ति हुन् । जनताकै चाहना र अपेक्षा अनुसार हाम्रो पार्टी अघि बढ्नेछ,” उहाँले थप्नुभयो ।

त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्वमन्त्री शत्रुधन प्रसाद महतोले हिन्दुहरूको महान् पर्व दशैं, दीपावली र छठका अवसरमा शुभकामना व्यक्त गर्दै कार्यकर्ताहरूलाई निर्वाचन अभियानमा सक्रिय रहन आह्वान गर्नुभयो । उहाँले वर्तमान राजनीतिक अवस्थाबारे धारणा व्यक्त गर्दै भने, “एमाले र काँग्रेसको स्वार्थपूर्ण राजनीति र बदनियतका कारण देश संकटमा फसेको हो । अब जनताले वैकल्पिक राजनीतिक नेतृत्व खोजेका छन्, र त्यो विकल्प एकीकृत समाजवादी पार्टी हो ।”
कार्यक्रममा पोलिटब्यूरो सदस्य एबँ प्रदेस सचिब सुधिर शाह, रमेश रञ्जन झा, श्रीप्रसाद साह, प्रदेश सांसद प्रमोद कुमार यादव, मधेश प्रदेश सदस्य प्रदीप यादव लगायतका नेताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
शुभकामना आदान–प्रदान कार्यक्रमले पार्टीभित्र उत्साह र एकताको सन्देश दिएको आयोजकहरूले बताएका छन् । कार्यक्रमले आगामी निर्वाचनका लागि कार्यकर्तामा ऊर्जा र संगठनगत सक्रियता थप्ने विश्वास पनि व्यक्त गरिएको छ ।



