जनकपुरधाम, १० मंसिर । धनुषाको गणेशमान चारनाथ नगरपालिका–११ का शम्भु कुमार यादवले आफूले किनेको जग्गा सहज रूपमा प्राप्त गराउन पत्रकारहरूसमक्ष गुहार गरेका छन्।
जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सबैला नगरपालिका–१२ का हरिचन ठाकुर बरहीका छोरा राजकुमार ठाकुर बरहीको नाममा दर्ता रहेको ५ कठ्ठा १० धुर जग्गा विधिपूर्वक खरिद गरेको बताए। राजकुमार ठाकुरले उक्त जग्गा यसअघि टुनु ठाकुर बरहीबाट किनेका थिए।
यादवका अनुसार आफूले उक्त जग्गा किनेपछि पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्ने क्रममा टुनु ठाकुर परिवारले अनावश्यक विवाद सिर्जना गरी निर्माण कार्यमा निरन्तर अवरोध गरिरहेको छ।
उनले भने, “टुनु ठाकुरले ५ कठ्ठा १० धुर जग्गा पहिले राजकुमार ठाकुरलाई बेचेका थिए। त्यस्तै, उहाँको दाइ रामनारायण ठाकुरको नाममा रहेको ६ कठ्ठा १३ धुर जग्गा मैले अपनी श्रीमतीको नाममा खरिद गरेको हुँ। तर करिब १० महिना अघि राजकुमार ठाकुरलाई बिक्री गरिएको जग्गा र घरसमेत मैले किनपछि, टुनु ठाकुरले ‘मैले जग्गा बेचेको छैन’ भन्दै कृत्रिम विवाद खडा गर्न थालेका छन्।”

यादवका अनुसार टुनु ठाकुरले आफूलाई “मोहीको जग्गा” भनेर झूटो दाबी गर्दै आएका छन्। “यो जग्गा सम्बन्धी मुद्दाको फैसला पनि मेरो पक्षमै भइसकेको छ। अदालतको आदेश र प्रहरीको निर्णयसमेत वेवास्ता गरी उनले जबरजस्ती निर्माण कार्य रोकिरहेका छन्,” यादवले दुःख व्यक्त गरे।
उनले थपे, “कागजात, कानुनी प्रक्रिया र अदालतको न्यायका आधारमा मात्र म आफ्नो हकको माग गरिरहेको हुँ। अदालतको फैसला नमानेपछि र जबरजस्ती जग्गामा कब्जा गर्ने प्रयास भएपछि म बाध्य भएर पत्रकारमार्फत न्यायिक सहयोगको अपिल गर्न आएको हुँ।”
शिक्षक रहेको नाताले आफू सामाजिक विवादमा भन्नेजस्तो संलग्न हुन नचाहने बताउँदै उनले न्यायिक प्रक्रियामार्फत समस्या समाधान गर्न खोजिरहेको उल्लेख गरे।



