जनकपुरधाम । लोककथामा आधारित नाटक ‘छुतहा घैल’ मधेशको माटोमा जन्मिएको एउटा भावुक कथा जस्तै छ । करिब ४७ वर्षको अन्तरालपछि मिथिला नाट्यकला परिषद् (मिनाप) ले आफ्नै नाट्यशालाबाट यो लोककथामा आधारित नाटक मञ्चन गर्दै जस्तो एउटा हराएको परम्परालाई पुनःघर फर्काएको अनुभूति दिलायो । २०३६ सालमा मिनापको स्थापना हुँदा मैथिली भाषाको प्रसार सीमित थियो, कलाकारका हातमा साधन थिएनन्, तर मुटुमा सिर्जनाको ज्वाला थियो । फुसको घरमा रिहर्सल गर्ने ती कलाकारहरूको यात्रा आज योगेन्द्र–महेन्द्र नाटक घरको भव्य उद्घाटनसम्म आइपुग्नु केवल समयको यात्रा मात्र होइन-मैथिली अस्मिताको पुनर्जागरण हो ।

वरिष्ठ साहित्यकार प्रा.श्यामसुन्दर ‘शशि’ ती दिनहरू स्मरण गर्दै भन्छन् कि पहिले सञ्चारमाध्यमको विस्तार थिएन, जनचेतनाको माध्यम नाटक नै थियो । हिन्दी र नेपाली नाटकको भीडबीच मिनापले “मैथिली नाटक” भन्ने पहिचानको जग बसाल्यो । समय फेरियो, भाषा विस्तार भयो, अनि नाटक नेपाल–भारत मात्र होइन, अन्य मुलुकहरूमा पनि पहिचान खोज्न निस्क्यो । मिनापले कुनै भवन मात्र बनाएन, एक संस्कृति, एक चेतना, एक रीतिलाई निरन्तरता दियो ।
यही निरन्तरताको नयाँ कडी हो—‘छुतहा घैल’। नाटक सुरु हुन्छ आम ग्रामीण जीवनमा गुजारा चलाइरहेकी एक दम्पतीको कथाबाट । उनीहरू जमिन्दारको घरमा काम गरेर भोक—पीडासँग लडिरहेका हुन्छन् । एक दिन श्रीमतीलाई माइतबाट दाजुको विवाहको खबर आउँछ र त्यो विहेमा सहभागी हुने इच्छा उनको मुटुको गहिराइबाट उठ्छ । तर शक्तिशाली जमिन्दारले विदा दिन इन्कार गर्छ । नारीको इच्छालाई कहिल्यै वजन नदिने, उसको भावनालाई सधैँ दोश्रो स्थानमा राख्ने ग्रामीण पुरुषवादी संरचना यहीँ प्रस्ट देखिन्छ ।

तर इच्छाको आवाज दबिँदैन । श्रीमान–श्रीमती गाउँको डर, जमिन्दारको धौंस वा गरिबीको बन्धनलाई बेवास्ता गर्दै माइतीतिर लाग्छन् । उनीहरूको बाटोमा आइपुग्छ—गोनु झाको मिथक। मिथिलाको लोक–स्मृतिमा एक बुद्धिवान, हाजिरजवाबी र अद्भुत पात्रका रूपमा चिनिने गोनु झा कथामा मात्र होइन, जनमनमा पनि अडिएका छन् । गाउँलेहरू उनलाई भूत–प्रेतसँग कुरा गर्ने, जादु–टोना गर्ने भन्ने डरले सम्झन्छन् । यही डर श्रीमतीमा पनि छ । तर श्रीमान चाहिँ पुरुष अहंकारको नशामा भन्छ-“गोनु झा के बाउ हौँ, मलाई केही हुनै सक्दैन ।” यही दम्भ र नारीका चिन्ताबीचको द्वन्द्व गहिरो रूपमा नाटकभरि बगिरहन्छ ।
गोनु झा र उनका अनुयायी बसुवा दम्पत्तीको विवाद, डर र दम्भ सुन्दैछन् । उनी नक्कली रूप धारण गरेर उनीहरूकै आन्तरिक चरित्रको परीक्षा लिन्छन् । कहिले हास्य मिसाएर, कहिले हेरसिकाइको स्वरूपमा, कहिले जीवनको साँचो दर्शन झल्काएर । नाटकभरि उनले प्रस्तुत गर्ने प्रत्येक युक्तिले दर्शकलाई हसाउँछ, झस्काउँछ, सोच्न बाध्य बनाउँछ । श्रीमानले श्रीमतीको चेतावनीलाई वेवास्ता गर्दा प्रयोग गर्ने अपशब्द, नारीलाई दोस्रो तहको मान्छे ठान्ने व्यवहार, र पुरुषीय दम्भ यी सबै आज पनि हाम्रो समाजमा जीवित छन् । यहीँ नाटक वर्तमानको दर्पण बन्छ । पुरानो कथा भए पनि आजका चुली भाँडासम्म छिर्ने विषय भएकाले यसलाई केही संशोधनसहित पुनर्मञ्चन गरिएको हो ।

दुई घण्टाको नाटक कहिले हाँसोको छाल जस्ता, कहिले मन चिरिने घाउ जस्ता, कहिले आत्मसम्मानका प्रश्न जस्ता भएर बगिरहन्छ । दर्शकलाई समयको अनुभूति नै हुँदैन । मदन ठाकुरदेखि रविन्द्र झा, प्रियंका झा, अनिता मण्डल, परमेश झा, धिरज ठाकुर, रामनारायण ठाकुर सबै कलाकारका भाव, संवाद, हाउभाउ पात्रसँगै बगिरहेका जस्ता लाग्थे । महेन्द्र मलंगियाको लेखनमा रहेको घरायसी यथार्थ र ग्रामीण संवेदना निर्देशक परमेश झाको प्रस्तुतिमा जीवन्त भएर मञ्चमै सास फेर्दै थियो ।
‘छुतहा घैल’ केवल लोककथा होइन, यो नारीको मर्म, पुरुषको दम्भ, समाजको सोच, र ग्रामीण जीवनको वास्तविकताको कथन हो । एउटा साधारण दम्पत्तीको दैनिक संघर्षभित्र हाम्रो सभ्यताले नदेखेजस्तो गरेको पीडा, हाम्रो हाँसोभित्र लुकेको त्रास, र हाम्रो व्यवहारभित्र पलाएको अन्याय सबै प्रस्ट देखिन्छ ।

नाटकघरको उद्घाटनसँगै मिनापले दर्शकको मागअनुसार नाटकहरू निरन्तर सञ्चालन गर्ने घोषणा गरको छ । यो घोषणा केवल कार्यक्रमको सूचनामात्र होइन, मैथिली भाषा, कला र आत्मसम्मानको निरन्तर दियो फेरि बलेको संकेत हो।
‘छुतहा घैल’ मञ्चमा मात्र होइन, मनमा पनि बजिरहने कथा हो । हाम्रो संस्कृतिले छोड्न खोजेको पीडाको आवाज र हाम्रो समाजले अझै नबुझेर बाँचिरहेको सत्यको प्रतिध्वनि ।

