जनकपुरधाम, १७ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा जनकपुरधाममा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिएको छ । जानकी मन्दिर, राम मन्दिर, गंगासागर पोखरी, स्वर्गद्वार, रंगभूमि मैदान, धनुषाधामलगायत प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा दिनभर श्रद्धालु तथा घुम्न आउनेहरूको चहलपहल बढेको छ ।
जानकी मन्दिर आसपासका सडकहरूमा भारतीय नम्बर प्लेटका सयौँ सवारी साधन देखिएका छन् । अधिकांश पर्यटक चारपाङ्ग्रे सवारीमार्फत जनकपुरधाम पुगेका हुन् । बुधबार साँझदेखि नै सीमावर्ती क्षेत्र हुँदै पर्यटक आगमन सुरु भएको थियो भने बिहीबार बिहानैदेखि भीड थप बढेको स्थानीयले बताएका छन् ।

नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतका बिहार, राजस्थान, दिल्ली, हरियाणा लगायत स्थानबाट आएका श्रद्धालु तथा पर्यटकहरूले जनकपुरधाम पुगेर पूजा–अर्चना गर्दै नयाँ वर्ष मनाएका छन् । विशेष गरी गंगासागरलगायत धार्मिक सरोवरमा स्नान गरी जानकी मन्दिर, राम मन्दिर र हनुमान मन्दिरमा पूजा–पाठ गर्नेहरूको संख्या उल्लेख्य रहेको थियो ।
धार्मिक स्थलसँगै जनकपुरधामका पिकनिक तथा मनोरञ्जनस्थलहरूमा पनि पर्यटकको चहलपहल देखिएको छ । कभर्डहल, नोचा पोखरी, धनुषाधाम वन क्षेत्र तथा विमानस्थल आसपासका स्थानहरूमा पर्यटकहरूले समूह बनाएर रमाइलो गर्दै नयाँ वर्ष मनाएका छन् ।
यसैबीच, भारतीय सवारी साधनबाट कति राजस्व संकलन भयो भन्ने विषयमा सीमावर्ती भन्सार कार्यालयसँग जानकारी लिन खोज्दा, बिहीबार अबेरसम्म पनि भारतीय सवारी साधनको आवागमन जारी रहेकाले यकिन विवरण दिन नसकिने जनाएको छ ।



