जनकपुरधाम, २७ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनुषा जिल्लामा राजनीतिक गतिविधि तीव्र बनेको छ । यससँगै जनकपुरधामका होटल व्यवसायीको आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि देखिएको छ ।
राजनीतिक दल, तिनका उम्मेदवार तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिका कारण आगामी फागुन महिनासम्म होटलमा ग्राहकको कमी नहुने व्यवसायीहरू बताउँछन् । निर्वाचनसँगै बढेको आवागमनले होटल व्यवसायमा १५ देखि २० प्रतिशतसम्म व्यापार वृद्धि भएको उनीहरूको दाबी छ ।
जनकपुरधामको शिवचौकस्थित वेलकम होटलका सञ्चालक विजय झुनझुनवालाका अनुसार निर्वाचनको चहलपहलले होटल व्यवसायमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ । “पर्यटन व्यवसायसँगै अबको एक महिनासम्म होटलको व्यापार अझ बढ्ने देखिन्छ,” उनले भने ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालित होटलहरू राम्रोसँग चलेका कारण समग्र स्थानीय आर्थिक गतिविधिमा पनि गति आएको होटल व्यवसायीहरूको भनाइ छ । आर्थिक, ऐतिहासिक तथा धार्मिक पर्यटकीय नगरीका रूपमा चिनिने जनकपुरधाममा पछिल्ला वर्षहरूमा होटल व्यवसाय तीव्र गतिमा विस्तार हुँदै आएको छ । निर्वाचनलाई लक्षित गर्दै नयाँ होटल सञ्चालनमा आउने क्रम पनि जारी छ ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा साना(ठूला गरी करिब ८ सय होटल सञ्चालनमा छन् । ती होटलमार्फत दैनिक एक अर्बभन्दा बढीको कारोबार हुने गरेको र करिब १५ हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको व्यवसायीहरू बताउँछन् । होटल क्षेत्रमा मात्रै करिब ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ ।
होटल व्यवसायी संघ जनकपुरधामका अनुसार धार्मिक पर्यटकलाई लक्षित गर्दै हरेक वर्ष सुविधासम्पन्न तथा महँगा होटलहरू थपिँदै गएका छन् । संघ धनुषाका अध्यक्ष रुपेश कुमार सिंहका अनुसार जेन(जेड आन्दोलनपछि केही समय सुस्ताएको होटल व्यवसाय निर्वाचनको चहलपहलसँगै पुनः सक्रिय बनेको छ ।
“जनकपुरधाममा पर्यटन व्यवसायको अपार सम्भावना छ, तर प्रचार(प्रसारको कमीका कारण कतिपय महँगा होटल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्,” उनले भने ।
धनुषाका विभिन्न स्थानमा दल तथा स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूको जमघट बढेसँगै बजार क्षेत्रमा समेत रौनक छाएको छ । यसले होटल व्यवसायसँगै झण्डा, ब्यानर, पर्चा(पम्पलेट निर्माणका लागि कपडा पसल, पेन्टर तथा छापाखानामा समेत ग्राहक बढाएको छ । व्यवसायीहरूका अनुसार यसपटकको निर्वाचन आर्थिक गतिविधिका हिसाबले ‘महापर्व’ जस्तै बनेको छ ।
निर्वाचनका कारण स्थानीय अर्थतन्त्रमा देखिएको सुधार र आर्थिक क्रियाकलापको वृद्धिले जनकपुरधाममा नयाँ होटल खुल्ने क्रम अझै जारी रहेको छ । धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा रहेको यस नगरमा आगामी दिनमा होटल व्यवसायले थप गति लिने अपेक्षा गरिएको छ ।

