जनकपुरधाम १५ फागुन । वरिष्ठ साहित्यकार तथा राजनीतिक विश्लेषक सुरेन्द्र लाभद्वारा लिखित मैथिली कथा–संग्रह ‘स्मृति-दंश’ एक समारोहबीच लोकार्पण गरिएको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा करिब दुई दर्जन वरिष्ठ साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । पुस्तक सार्वजनिकसँगै संग्रहमा समावेश कथाहरूमाथि विस्तृत कथा–वार्ता पनि गरिएको छ ।
पुस्तकका लेखक डा.सुरेन्द्र लाभको अध्यक्षतामा भएको कथा वार्तामा वरिष्ठ साहित्यकार रेवतीरमण, रामभरोष कापडि, डा.भोगेन्द्र झा, प्रो.परमेश्वर कापडि, श्यामसुन्दर शशि, हिमांशु चौधरी, वृजकुमार यादव, उमेश साह, नित्यानन्द मण्डल, सुजित झा, राजेश कर्ण, कैलास दास, पुरण गुप्ता, सुरेश यादव, पुनम झा मैथिल सहितले कथामाथि आफ्ना प्रतिक्रिया जनाएका छन् ।
एक सय २८ पृष्ठका रहेको ‘स्मृति-दंश’ संग्रहमा कुल २६ वटा कथा समावेश छन् । पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । आठ वटा परम्परागत कथा, आठ वटा कथा–रिपोर्ताज र १० वटा लघुकथा रहेको छ । यस संरचनाले पुस्तकलाई केवल कथा–संग्रह मात्र नभई विधागत प्रयोगको दस्तावेजका रूपमा पनि उभ्याएको छ ।
कार्यक्रममा बोल्दै समीक्षक डा. भोगेन्द्र झाले मैथिली साहित्यमा कथा–रिपोर्ताजको समावेशी प्रयोगलाई ऐतिहासिक प्रयासका रूपमा चित्रित गरेका छन । उहाँका अनुसार, ‘स्मृति-दंश’ मैथिली भाषामा कथा–रिपोर्ताजलाई संगठित रूपमा प्रस्तुत गर्ने सम्भवतः पहिलो कृति हो, जसले साहित्यिक अभिव्यक्तिलाई नयाँ आयाम दिएको छ । उहाँले यसलाई मैथिली भाषा र साहित्यका लागि सकारात्मक तथा उन्नत पहलका रूपमा व्याख्या गरेका छन ।
संग्रहका कथाहरू लेखकका व्यक्तिगत अनुभव, भोगाइ र समयसँगको संघर्षबाट जन्मिएका छन् । शीर्षकले संकेत गरेझैं, स्मृतिका तीखा चिराहरू-पीडा, विस्थापन, सामाजिक अन्याय र राजनीतिक जटिलताहरू-कथाका मूल स्वर बनेका छन् । भाषा सरल र सहज भए पनि कथाको भावभूमि गहिरो राजनीतिक चेतना, सामाजिक यथार्थ र प्रवासी जीवनले भोग्दै आएका समस्यामाथि केन्द्रित रहेको छ ।
सहभागी साहित्यकारहरूले कथाको कथ्य, पात्र–निर्माण, संरचना तथा भाषा–शैलीका विविध पक्षमा सुझाव दिएका छन् । कतिपयले कथा–रिपोर्ताज विधामा अझ स्पष्ट संरचनात्मक अनुशासन आवश्यक रहेको उल्लेख गरे भने केहीले लघुकथामा भावनात्मक घनत्व थप सशक्त बनाउन सुझाव दिएका छन् ।
कार्यक्रमको समापन गर्दै लेखक सुरेन्द्र लाभले सबै समीक्षात्मक सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन । उनले आगामी संस्करणमा प्राप्त सुझावअनुसार परिमार्जन र परिष्कार गरी अझ परिपक्व रूपमा कृति प्रस्तुत गर्ने बताएका छन् ।
डा. लाभ मधेश प्रदेशका प्रदेश प्रमुख हुृन् । साहित्य र सार्वजनिक जीवन दुवै क्षेत्रमा सक्रिय उनको यो कृति मैथिली साहित्यिक वृत्तमा समकालीन बहस र विमर्शको नयाँ आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।



