विक्रम संवत् अनुसार नयाँ वर्षको सुरुवात वैशाख १ गतेबाट हुन्छ । यो केवल पात्रो परिवर्तन मात्र होइन, समयको नयाँ चक्रको आरम्भ पनि हो । नयाँ वर्षले मानिसमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्प भर्ने गर्दछ । व्यक्तिले आफ्ना विगतका दुःख(सुखलाई स्मरण गर्दै नयाँ लक्ष्यसहित अगाडि बढ्ने प्रेरणा लिन्छ । यही भावनाले समाज, राष्टू र समग्र विकास प्रक्रियालाई पनि प्रभावित पार्ने गर्दछ ।
नयाँ वर्ष केवल उत्सवको अवसर मात्र नभई आत्मसमीक्षा र भावी दिशाको निर्धारण गर्ने महत्वपूर्ण समय पनि हो । यस दिनलाई विगतको मूल्यांकन र भविष्यको योजना बनाउने अवसरका रूपमा लिनु अत्यावश्यक हुन्छ । तर, विगत वर्ष २०८२ लाई नियाल्दा नेपाली समाजका लागि यो वर्ष अपेक्षाकृत सहज र सुखद हुन सकेन । राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व, सामाजिक कलह तथा विभिन्न प्रकारका हिंसात्मक घटनाले देशलाई गहिरो असर पारे । यी घटनाहरूका कारण सयौँ नागरिकले ज्यान गुमाउनुपरेको तथ्य अत्यन्त दुःखद छ ।
विशेषगरी, पछिल्लो समय देखिएको आन्दोलन, असन्तुष्टि र सामाजिक तनावले देशको शान्ति तथा स्थायित्वमा गम्भीर प्रश्न उठाएको छ । समयअघि भएको प्रतिनिधिसभा निर्वाचनले राजनीतिक अस्थिरताको संकेत मात्र दिएन, जनविश्वासमा पनि असर पारेको देखिन्छ । यस्ता घटनाहरूले भौतिक तथा आर्थिक क्षतिसँगै गहिरो मानवीय पीडा सिर्जना गरेका छन्, जसको प्रभाव अझै पनि जनमानसमा कायम छ ।
सुशासनको अभाव, बढ्दो भ्रष्टाचार र अनियमितताले राज्यप्रतिको विश्वास कमजोर बनाएको छ । भ्रष्टाचार जस्तो विकृति क्यान्सरजस्तै फैलिँदै गएको अवस्थामा आम नागरिकले राज्यबाट अपेक्षित सेवा र सुरक्षा अनुभूत गर्न सकेका छैनन् । अर्कोतर्फ शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्रहरूमा देखिएको कमजोरीले जनजीवन थप कष्टकर बनाएको छ । विशेषगरी युवा वर्ग बेरोजगारीको समस्याबाट ग्रस्त भई वैदेशिक रोजगारीतर्फ धकेलिन बाध्य भएका छन्, जसले भविष्यप्रति अनिश्चितता थपेको छ ।
यद्यपि, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको नयाँ सरकारप्रति जनताको अपेक्षा र विश्वास दुबै उच्च देखिएको छ । नयाँ नेतृत्वले छोटो समयमै देखाएको सक्रियता र कार्यगत गति सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । जनताका आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग पुनः सञ्चालनप्रति सरकारको चासो र प्रयास आशा जगाउने खालका छन् ।
विशेषतः युवा नेतृत्वको उदयले देशमा नयाँ ऊर्जा र परिवर्तनको सम्भावना देखाएको छ । तर, केवल जोस र उत्साहले मात्र दीर्घकालीन सफलता सुनिश्चित गर्न सक्दैन । राजनीतिक परिपक्वता, अनुभव र दूरदृष्टिको अभावले निर्णय प्रक्रियामा चुनौती ल्याउन सक्छ । त्यसैले सरकारलाई सही दिशामा अघि बढाउन नागरिक समाज, सञ्चारमाध्यम र स्वयं जनताको निरन्तर निगरानी र सचेत भूमिकासमेत अपरिहार्य हुन्छ ।
नयाँ वर्ष २०८३ ले नेपाली समाजलाई विगतका कमजोरीहरूबाट सिक्दै सुधार र समृद्धिको बाटोमा अघि बढ्ने अवसर प्रदान गरेको छ । अबको आवश्यकता भनेको केवल आशा राख्ने मात्र होइन, जिम्मेवारीपूर्वक आ(आफ्नो भूमिका निर्वाह गर्ने हो । राज्यले सुशासन र पारदर्शिता सुनिश्चित गर्नुपर्छ भने नागरिकले पनि सकारात्मक सहभागिता जनाउनुपर्छ ।
अन्त्यमा, नयाँ वर्ष २०८३ को सुखद अवसरमा सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै, यो वर्ष राष्टूका लागि स्थायित्व, सुशासन र विकासको वर्ष बन्न सकोस् भन्ने अपेक्षा व्यक्त गर्दछौँ ।

