जनकपुरधाम, ३० वैशाख । जनकपुरधाममा आयोजना हुन लागेको सातौं जनकपुर साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव आगामी जेठ १, २ र ३ गते आयोजना गरिने भएको छ ।
नव मिथिला फाउण्डेशनको आयोजनामा विगत छ वर्षदेखि निरन्तर हुँदै आएको जनकपुर साहित्य महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ । महोत्सवको तयारीबारे जानकारी दिन बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यसपटकको संस्करणलाई अझ व्यापक र बहुआयामिक बनाइएको बताएका छन् ।
महोत्सवमा साहित्य, संस्कृति, शिक्षा, भाषा, राजनीति, पर्यटन, सञ्चार, खेलकुद तथा प्रविधिलगायत समसामयिक विषयमा केन्द्रित विभिन्न विमर्श आयोजना गरिनेछ । ‘मैथिली कथाको नेपाली संसार : माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन कहिन्छ खेलकुदमा खेलवाड ?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा : सम्भावना, चुनौती र मार्गचित्र’, ‘नेपाली महिला लेखन : संघर्षदेखि सिर्जनासम्म’, ‘पाठ्यक्रम, दक्षता र क्षमता’, ‘भाषा, प्रविधि र संस्कृति’, ‘महिलाक महिमा’, ‘भू–राजनीति र भू–अर्थतन्त्र’, ‘रंगमञ्चदेखि सिनेमासम्म’ तथा ‘बहुभाषिक चेतना : शिक्षा आ साहित्य’ लगायत विषयमा विशेष छलफल गरिने जनाइएको छ ।
आयोजकका अनुसार महोत्सवमा १३ वटा प्यानल डिस्कसन तथा ‘कृत्रिम बुद्धिमत्ता (एआई) लाई कसरी सहज रूपमा बुझ्ने ?’ शीर्षकमा एकल प्रवचनसमेत समावेश गरिएको छ । यसरी कुल १४ वटा विषयमा केन्द्रित कार्यक्रममार्फत महोत्सवलाई ज्ञान, बहस र सांस्कृतिक आदानप्रदानको साझा थलोका रूपमा प्रस्तुत गरिनेछ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
जनकपुर साहित्य महोत्सवको शुरुआत सन् २०१९ बाट भएको हो ।



