जनकपुरधाम, २७ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी दलित समुदायकी महिलालाई अस्पताल परिसरबाहिरै प्रसूति हुनुपरेको घटनाप्रति नेपाल दलित मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।
नेपाल दलित मोर्चाका केन्द्रीय उपसंयोजक राम अवतार पासवानले जारी गरेको विज्ञप्तिमा राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता देवी पासवानलाई आर्थिक अभावका कारण अस्पताल पुगे पनि प्रसूति गराउने समयमा उचित सहयोग नपाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा सुत्केरीका बेला अस्पतालमा व्यथा लागेपछि प्रसूति गराउन जाने तर आर्थिक अभावका कारण अस्पतालले बेवास्ता गरेको र व्यथा लागेका बेला केही वास्ता नगरी हेलामा हलुवाट लखेटी भगाइदिएको उल्लेख गरिएको छ । त्यसपछि ती महिलाले सडकको पेटीमै बच्चा जन्माउनुपरेको भन्दै घटनालाई क्रूर र अमानवीय भनिएको छ।
मोर्चाले नागरिकको मौलिक हकका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा तथा सुरक्षित मातृत्वको अधिकारबाट विपन्न दलित समुदायलाई वञ्चित गरिनु दुःखद् र निन्दनीय भएको जनाएको छ।
विज्ञप्तिमा यस्तो संवेदनशील अवस्थामा मानवीय संवेदनशीलता गुमाएर व्यवहार गर्ने स्वास्थ्य नीति विपरीत कार्यमा संलग्न अस्पताल प्रशासन, चिकित्सक, अधिकृत, मेडिकल सुपरभाइजर तथा कर्मचारीमाथि कडा कारबाही गर्न माग गरिएको छ। साथै पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।
मोर्चाले आगामी दिनमा दलित वा अन्य कुनै पनि महिलामाथि यस्ता अमानवीय तथा विभेदकारी घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत गराउँदै घटनाप्रति आवश्यक निगरानी र संवेदनशीलता अपनाउन आग्रह गरेको छ।



