जनकपुरधाम, ९ असोज । राष्ट्रिय दलित आयोगले मधेश प्रदेश लोक सेवा आयोगबाट दलित समुदायका लागि आरक्षित पदमा ‘सहनी’ थरका उम्मेदवार छनोट भएको विषयमा छानबिन गरी वास्तविकता खुलाउन आग्रह गरेको छ ।
राष्ट्रिय दलित आयोगको अधिकार प्रवद्र्धन तथा सशक्तीकरण शाखाले मधेश प्रदेश लोक सेवा आयोगलाई पत्र पठाउँदै दलिततर्फको आरक्षित पदमा गरिएको सिफारिसका सम्बन्धमा आवश्यक विवरण उपलब्ध गराउन भनेको हो ।
आयोगका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका–९ का लालकुमार पासवानले दिएको निवेदनका आधारमा उक्त पत्राचार गरिएको हो । पासवानले मधेश प्रदेश लोक सेवा आयोगको विज्ञापन नं. ५४७÷२०८२–८३ अन्तर्गत स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर सातौँ (प्राविधिक) तहको दलिततर्फको लिखित परीक्षाको नतिजा प्रकाशनपछि उम्मेदवार सिफारिसप्रति प्रश्न उठाएका थिए ।
लिखित परीक्षाको नतिजामा क्रमसंख्या २७ मा राम पुकार सहनी छनोट भएको उल्लेख गर्दै निवेदकले ‘सहनी’ थर दलित समुदायभित्र नपर्ने भएकाले उम्मेदवारको सिफारिस रद्द गर्न माग गरेका थिए ।
निवेदनमा तराई–मधेशका दलित समुदायसम्बन्धी राष्ट्रिय दलित आयोगको पूर्वनिर्णयसमेत उल्लेख गरिएको छ । आयोगले पत्रमा पटवा, बिन (मुसहरिया), मलाह (सहनी), लोहार र गोढिया थर दलित जातिभित्र नपर्ने सम्बन्धमा आयोगको निर्णय तथा यसअघि सबै प्रदेश लोक सेवा आयोगमा गरिएको पत्राचारबारे समेत ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय दलित आयोगले २०८३ वैशाख ७ गतेको निर्णय तथा २०८२ पुस १० गतेको पत्राचारलाई समेत आधार बनाउँदै उक्त विषयमा मधेश प्रदेश लोक सेवा आयोगबाट के–कस्तो प्रक्रिया अपनाइएको हो भन्नेबारे स्पष्ट विवरण मागेको छ ।
आयोगले सम्बन्धित विज्ञापन, उम्मेदवार छनोट तथा सिफारिसको आधारलगायत विषयमा वास्तविकता खुलाइ पठाउन मधेश प्रदेश लोक सेवा आयोगलाई आग्रह गरेको हो ।
राष्ट्रिय दलित आयोगको अधिकार प्रवद्र्धन तथा सशक्तीकरण शाखाका शाखा अधिकृत गोपाल श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा निवेदनको छायाप्रति र तराई–मधेश समुदायका केही थर दलित जातिभित्र नपर्ने सम्बन्धमा आयोगले गरेको निर्णयको प्रतिलिपिसमेत संलग्न गरिएको छ ।
यसअघि मधेश प्रदेशका दलितको क्षेत्रमा काम गर्दै आएका संघ संस्था तथा दलित अभियन्ताहरुले पनि आपत्ति जनाउँदै घोर भत्सना गरेका थिए ।




