जनकपुरधाम १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट प्रस्तुत गर्ने भएको छ। बजेट सार्वजनिक गर्न प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ।
स्रोतका अनुसार, सरकारले झण्डै ४६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको छ, जुन गत वर्षको तुलनामा २ अर्बभन्दा बढी हो। गत वर्ष सरकारको कुल बजेट ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ रहेको थियो।
प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले मधेश प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
सरकारले चालु वर्षमा जस्तै यस वर्ष पनि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै सबैभन्दा बढी बजेट यही शीर्षकमा विनियोजन गर्ने तयारी गरेको छ।
एक उच्च अधिकारीका अनुसार, बजेट जेठ २३ गते सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रमलाई आधार बनाएर तयार गरिएको हो।
यस बजेटमार्फत सरकारको प्राथमिकता विकास, पूर्वाधार र रोजगारी सृजनामा केन्द्रित रहने अनुमान गरिएको छ।

