जनकपुरधाम ६ साउन । जनकपुरधाम मधेश प्रदेशको राजधानी मात्र होइन, धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले समेत नेपालकै महत्वपूर्ण नगरी हो । जानकी मन्दिर, राम मन्दिर, बौधिमाई मन्दिर, गंगासागर, धनुष सागर जस्ता धार्मिक स्थलले समृद्ध यो नगरी हिन्दु आस्थाका दृष्टिले अत्यन्तै पवित्र स्थल हो । तर यति गरिमामय सहर अहिले दुव्र्यवस्था, असंवेदनशीलता र दायित्वविहीनताले ग्रसित छ । मुख्य मन्दिर क्षेत्रको सौन्दर्यता र पवित्रता दिनप्रतिदिन खल्बलिन थालेको छ, तर स्थानीय सरकार र सरोकारवाला निकाय मौन छन् ।
जनकपुरधामको सुन्दरता र गरिमालाई हेर्ने पहिलो आधार भनेको यसको सडक, बत्ती, सरसफाई र धार्मिक स्थानहरुको व्यवस्थापन हो । तर अहिलेको अवस्थाले सहरको अनुहार नै कुरुप देखिन थालेको छ । मन्दिर क्षेत्रको सौन्दर्यलाई पूरै बिगार्ने गरी सडक छेउछाउमा ठेला, फुटपाथ पसल, खानेकुराको बिक्री र जथाभावी फालिएको फोहोरले धार्मिक स्थलमाथि नै अपमान गर्ने स्थिति सिर्जना भएको छ । जानकी मन्दिर, राममन्दिर, बौधिमाई मन्दिर लगायतका स्थानहरू विहानदेखि साँझसम्म दर्जनौँ ठेलागाडाले घेरेका हुन्छन्, जहाँ सयौँ मानिसहरु खाजा खाएर जुठो, फोहोर सडकमा नै फाल्दछन् ।
अझै गम्भीर कुरा के छ भने, त्यस्ता फोहर र भीडले पैदल यात्रु, श्रद्धालु र सवारी साधनलाई समेत असहज बनाएको छ । कतिपय अवस्थामा ठेलाको भीड, फोहोर र अव्यवस्थित सडकका कारण दुर्घटना समेत भएका छन्, तर स्थानीय प्रशासन, उपमहानगरपालिका, प्रहरी निकाय र नागरिक समाज मौन छन् । यस्तो स्थितिमा धार्मिक नगरीको मर्यादा जोगिने त कुरै भएन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण भन्छन—‘धर्मको नाममा जनकपुरधाममा श्रद्धालु गंगाजल छर्केर पूजा गर्न आउँछन्, तर उनीहरुले त्यो पवित्र स्थलमा जुठो फोहोर टेकेर हिँड्नुपर्ने बाध्यता छ । यो जनकपुरधामको मात्र होइन, सम्पूर्ण देशकै लज्जाको विषय हो ।’
कर्णका अनुसार, मिथिला संस्कृति केवल नेपाल वा भारतमा सीमित छैन, यो सम्पूर्ण विश्वमा चिनिएको छ । यस्ता पवित्र स्थानहरूमा पर्यटक मात्र भगवान दर्शन गर्न आउँदैनन्, उनीहरू यहाँको खानपान, पोशाक, बोली, संस्कार, व्यवहार र सहरको व्यवस्थापन पनि हेर्छन् । तर ती सबै पक्ष असंगठित र अव्यवस्थित छन् । पर्यटक व्यवस्थापन, धार्मिक पर्यटन प्रवद्र्धन र सौन्दर्य विकासका लागि जिम्मेवार स्थानीय सरकार आफै मौन छ, र सहरका नागरिक पनि उदासीन छन् ।
वरिष्ठ पत्रकार श्रीनारायण साह थप्छन—‘जनकपुरधाम उपमहानगरपालिका जस्तो गम्भीर संस्थाले मठमन्दिर र सहरको सौन्दर्यता व्यवस्थापन गर्नु पर्ने बेलामा उल्टै त्यही क्षेत्रमा ठेला हटाउने नाउँमा बट्टी उठाउने अभियानमा मात्र सीमित छ । हिन्दीमा एउटा कहावत छ, ‘बन्दर के हाथ में लाठी’, ठ्याक्कै यस्तै भइसकेको छ जनकपुरमा । जसलाई धार्मिक चेतनाको अत्तोपत्तो छैन, उसैलाई नगरको साँचो दिइएको छ ।’
जनकपुरधामका गंगासागर, धनुष सागर लगायत जस्ता सरसरोवरहरूको संरक्षणको सट्टा तिनीहरूको छेउमा ठेला पसल राखिएका छन्, प्लास्टिकका खोल, जुठा खानेकुराको खोल, ग्याँस सिलिण्डर र फोहोरको थुप्रो पवित्रताको मजाक बनेका छन् । जहाँ धार्मिक कथा र इतिहास लेखिनु पर्ने थियो, जहाँ सांस्कृतिक चित्र टाँसिनु पर्ने थियो, त्यहाँ अहिले फोहोरको बोराभित्र बजेको आधुनिक गीत र परिकारको गन्ध छाएको छ । जनकपुरधाम नगरको साँचो बोकेको उपमहा नगरपालिकाले त यस्तो गरिरहेको छ भने प्रदेश सरकारको त झनै बोलचाल छैन । दुवै सरकार जनकपुरधामको समग्र सौन्दर्य, पर्यटन सम्भावना र धार्मिक गरिमाको रक्षा गर्न कति गम्भीर छन् भन्ने यिनै दृश्यबाट स्पष्ट हुन्छ । राज्यको मौनता, स्थानीय सरकारको गम्भीरताविहीनता र नागरिक समाजको निष्क्रियताले गर्दा जनकपुरधामको गरिमा द्रुतगतिमा ओरालो लागिरहेको छ ।
हाम्रो सहर—जनकपुरधाम—केवल धार्मिक पूजाअर्चनाको केन्द्र होइन, यो नेपालको सांस्कृतिक धरोहर हो । यस्ता नगरीलाई व्यवस्थित गर्न व्यापक योजना, समन्वय, सचेतना र अभियान आवश्यक छ । मठमन्दिर क्षेत्रलाई धार्मिक घेरामा राखी शान्त, फोहोररहित, सौन्दर्ययुक्त बनाउनु जरुरी छ । पसलहरूलाई व्यवस्थित गर्न निश्चित क्षेत्र तोक्नुपर्छ, फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, र दैनिक अनुगमन प्रणाली विकास गर्नुपर्छ ।
यदि यस्ता कामहरू अविलम्ब सुरु भएनन् भने, केही वर्षमै जनकपुरधामको गरिमा पर्यटकको नजरमा क्षयीकरण हुनेछ । धार्मिक नगरीको यो रूप देख्दा नेपाल भ्रमणमा आएका श्रद्धालुहरु आफैँ सन्तप्त हुन्छन् । यही कारणले गर्दा उनीहरूको अनुभव निराशाजनक बन्ने खतरा बढिरहेको छ ।
आज आवश्यक छ जनकपुरधामलाई साँचो धार्मिक, सांस्कृतिक र ऐतिहासिक केन्द्र बनाउने साझा संकल्प, जसमा सरकार, उपमहानगरपालिका, नागरिक समाज, युवाहरु, पत्रकार, सुरक्षा निकाय र सम्पूर्ण जनकपुरवासीको उत्तरदायित्व रहनेछ ।
सहरको सौन्दर्य केवल मन्दिरको भित्तामात्र होइन, त्यस वरिपरिको वातावरणले तय गर्छ । सडक, बत्ती, फोहोर व्यवस्थापन, श्रद्धालुको सहुलियत, धार्मिक मर्यादा, पर्यटकको स्वागत आदिसबै पक्षलाई जोडेर जनकपुरधामको गरिमा जोगाउन सकिन्छ । अब पनि समय छ—बुझ्नका लागि, बदल्नका लागि, र जोगाउनका लागि । जनकपुरधाम हाम्रो आस्था, इतिहास र पहिचान हो—यसलाई केवल हेर्न होइन, सजाउनु पनि हाम्रो कर्तव्य हो ।

