वीरेन्द्र कर्ण
जनकपुरधाम । मधेश प्रदेशमा साउन महिना भनेको बजारमा हरियो रङको बाढी आउनु हो । बजारका पसलहरूमा हरियो चुरा, हरियो सारी, कुर्था, ब्लाउज र सिंदूरले सिङ्गारिएको प्रदर्शनी सुरु हुन्छ । महिलाहरू भीडमा हरियो रंगका लुगाहरू रोजिरहेका हुन्छन् । गाउँदेखि शहरसम्म महिलाहरूको एकदमै चासोको विषय बनिसकेको हुन्छ(साउनको सोमबार, हरियो चुरा, र तिजका व्रत । तर यति नै बेला एक प्रश्न हामीले किन उठाउँदैनौंः हरियो चुरा र व्रत साँच्चै धर्म र श्रद्धाको विषय हो कि बजार र भावनात्मक शोषणको ?
मधेशमा धार्मिक आस्थाको गहिरो जरा छ । यहाँका महिलाहरू सानै उमेरदेखि व्रत, पूजा, चाडपर्व र परम्परागत संस्कारमा गहिरो रूपमा संलग्न हुन्छन् । साउन, तिज, छठ, नवरात्री(यी सबै पर्वहरू महिलाहरूको व्रत, श्रद्धा र समर्पणसँग गाँसिएका छन् । उनीहरूलाई सानो उमेरदेखि सिकाइन्छ(“पतिको दीर्घायुको लागि व्रत बस्नु पवित्र कर्तव्य हो”, “हरियो चुरा लगाउनु शुभ हो”, “रातो सारीमा सजिनु सौभाग्यको चिन्ह हो”। यी विश्वासहरू धार्मिक हुन् कि सांस्कृतिक ? कि बजारले बनाएको मनोवैज्ञानिक जाल ?
साउनको महिनामा विशेषगरी सोमबारका दिन शिवको व्रत बस्ने प्रचलन पुरातन कालदेखि नै छ । तर अहिले त्यो व्रत परम्परा र आध्यात्मिकता भन्दा पनि “तपाईंको श्रीमानको आयु बढ्छ “ भन्ने कथनमार्फत भावनात्मक रूपले महिलालाई बाध्य पार्ने माध्यम बन्न पुगेको छ । बजारले महिलाको मनोविज्ञान अध्ययन गरिसकेको छ(उनीहरू पतिको माया र स्वास्थ्यको मामिलामा अत्यन्तै संवेदनशील हुन्छन् । यही संवेदनशीलता बजारको लागी सुन जस्तै हुन्छ । आज मधेशका अधिकांश महिलाहरू साउन सुरु हुनुअगावै नयाँ लुगा, चुरा, मेहेन्दी र सौन्दर्य सामाग्री किन्ने चटारोमा हुन्छन् । गाउँका ठूला बजारहरूमा बाक्लो भीड हुन्छ, किनमेल गरिरहने अधिकांश महिला हुन्। यस्तो देख्दा एक किसिमको सांस्कृतिक जागरणजस्तो लाग्न सक्छ, तर भित्र हेर्दा त्यो ’धार्मिक उपभोगवाद’ हो । बजारले महिलाहरूलाई ’अर्ध(सांसारिक देवी’ बनाइदिएको छ(जो धर्मको नाममा सबै सहन्छिन्, प्रेमको नाममा आफूलाई बेचिन दिन्छिन् ।
यस वर्ष जनकपुरधाम, बर्दिवास, लहान, मलंगवा, गौर, जलेश्वर, वीरगञ्ज, कलैया लगायतका शहरका बजारहरूमा साउनको भव्य व्यापार भइरहेको छ । तर बजारले बेचिरहेको सामान भन्दा पनि त्यो बेचिरहेको विचारको मूल्य बढी गम्भीर छ । “हरियो चुरा लगाउनाले श्रीमानको आयु बढ्छ“, “व्रत बसेर नै सौभाग्य टिक्छ“(यी भनाइहरू धार्मिक लुगा ओढेका भावनात्मक ब्ल्याकमेलका औजार हुन् । त्यो पनि त्यस्तो समाजमा जहाँ सत्तरी प्रतिशत महिला अनौपचारिक श्रम बजारमा छन्, घरेलु हिंसाको शिकार छन्, र जसको शिक्षामा पहुँच सीमित छ ।
मधेशको सामाजिक संरचना अझै पनि पितृसत्तात्मक सोचले भरिएको छ । महिलालाई “किस्मतकी देवी“, “शुभता र समर्पणको प्रतिमूर्ति“ बनाइन्छ, तर निर्णयमा उनीहरूको भूमिका छैन । व्रत बस्ने, चुरा लगाउने, घुँघट ओढ्ने, चुल्हो चाप्ने, सबै महिलाका जिम्मेवारी हुन्, तर परिवारको भविष्यबारे निर्णय गर्ने अधिकार पुरुषको । यस्तो असमान समाजमा व्रतलाई ‘स्वेच्छाको अधिकार’ भन्नु आफैँमा विडम्बना हो ।
जनकपुरकी सुनिता राउत भन्छिन्(“हामी त हरियो चुरा नलगाए भोलि कसैले भन्छ(हेर, पतिको माया छैन क्यारे ! “ समाजले मापदण्ड बनाइदिएको छ(“धार्मिक हुनु भनेको चुरा लगाउनु“, “समर्पित पत्नी हुनु भनेको निर्जल व्रत बस्नु“, “सौभाग्यवती देखिनु भनेको घुँघट तान्नु“। यी सबै कुराहरू महिलाको मानसिक स्वतन्त्रतामाथिको दबाब हुन् । जबसम्म उनीहरू यी सामाजिक परिभाषाहरूलाई प्रश्न गर्न सक्दैनन्, उनीहरू सधैँ बजारको ’टार्गेट कन्ज्युमर’ बन्नेछन् ।
म मधेशका थुप्रै गाउँमा पुग्दा देखेको छु(घरको चुलोमा ग्यास छैन, तर दराजमा तीनथरी हरियो सारी छन् । बच्चाहरूको स्कुल फिस तिर्न नसकेर चन्दा मागिन्छ, तर तिजको व्रतका लागि सयौं रुपैयाँको श्रृङ्गार किनिन्छ । यसले देखाउँछ कि बजारले भावनालाई कसरी प्राथमिकतामा राखेर आवश्यकता ओझेलमा पारेको छ। अनि हामी आफैँ पनि त्यो संरचनाको भाग बन्न पुगिरहेका छौं ।
अझ अचम्म त तब लाग्छ जब महिला अधिकारको लागि बोल्ने शिक्षित महिलाहरूले पनि साउनमा व्रत नगरे श्रीमानको आयु घट्ने डर देखाउँछन् । उनीहरू पनि त्यही परम्परालाई अनौठो उत्साहले निरन्तरता दिइरहेका छन्, जसले महिलाको स्वतन्त्र सोचमा बन्धन लगाउँछ । जब स्वतन्त्रताका निम्ति लड्नेहरूले नै संस्कृतिको नाममा बाँध्ने काम गर्छन्, तब त्यहाँबाट प्रगतिशीलता होइन, संस्कृतिबाट भय पैदा हुन्छ ।
धेरैजसो पुरुषहरूले यो सबैलाई केवल ’मन लाग्यो गरे’ भन्ने व्यक्तिगत स्वतन्त्रताको चस्माले हेर्छन् । तर महिलाको स्वतन्त्रता र आत्मनिर्णयको सवालमा ’मन लाग्यो’ भन्न सक्ने अवस्था आफैँमा असमानताबाट निर्देशित हुन्छ। जब पुरुषले भनेजस्तो लुगा नलगाउँदा सामाजिक आलोचना हुँदैन, तर महिलाले नगर्दा ’कंजुस’, ’धार्मिक नभएको’, ’श्रीमान् माया नगर्ने’ भनिन्छ(त्यो स्वतन्त्रता हो कि मानसिक जेल ?
यदि व्रत बस्नाले आयु बढ्ने हो भने मधेशका ती हजारौं विधवा महिलाहरूको पति किन असमयमै ज्यान गुमाए? यदि चुरा र सिन्दूरमा प्रेम लुकेको हो भने शिक्षित, आधुनिक भनिने पुरुषहरू किन पत्नीको भावनालाई मूल्य नदिई ’किचकिच’ भनेर हेर्छन्? यदि व्रत साँचो प्रेम हो भने किन महिलाको प्रेममात्र शुद्ध, समर्पित र मौन हुनु आवश्यक छ? किन पुरुषले प्रेम प्रमाणित गर्नुपर्ने कुनै सांस्कृतिक चाप छैन ? मधेशमा अब त्यो बहस उठ्न आवश्यक छ(के हाम्रो संस्कृति साँच्चै महिला(पुरुषबीच समानताको हो? कि केवल महिलामाथिको आदर्शवादको आवरणमा एकतर्फी समर्पणको हो? यदि साउन मनाउनु छ भने किन पति(पत्नी मिलेर दुईवटा रुख रोपेर हरियाली फैलाउने काम नगरे? किन दुबै जनाले एक(अर्काको लागि स्वास्थ्य र प्रेमको संकल्प नगरे ?
आज जरुरी छ कि मधेशका महिलाहरू यो भावनात्मक बजारवादको चक्रव्यूह बुझुन्। उनले सिकेको संस्कार यदि अनुचित छ भने त्यसलाई आफ्नी छोरीलाई हस्तान्तरण गर्नु अगाडि प्रश्न गर्न सकुन्। बजार, धर्म र समाजले उनीहरूलाई जुन परिभाषा दिएको छ, त्यो परिभाषाभन्दा बाहिर गएर आफूलाई बुझ्न सकुन्। आखिर हरियो चुरा त सुन्दरता हो, तर डरका कारण लगाइने चुरा त मानसिक बेडी हो ।

