जनकपुरधाम, २७ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा मधेश प्रदेशसभा सांसद मनिष सुमनले मधेश प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम साहित्यिक सृजना जस्तै ‘काव्य’ हो । अकल्पनीय कुरा हो । यसले मधेशमा केही परिवर्तन ल्याउन सक्दैन भन्नुभयो ।
उहाँले समाचार दैनिक सँग कुरा गर्दै भन्नुभयो प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम ‘काव्य’ जस्तै मात्र देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नीति तथा कार्यक्रममा ५० वटा भन्दा बढी नारा छन्। नाराले मात्र नीति तथा कार्यक्रम समृद्धि ल्याउन सक्दैन। मयुर नृत्य जस्तै मधेश सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।’’
सांसद सुमनले प्रदेश सरकारले जनताको जीवनस्तर सुधार्न आवश्यक ठोस योजना र कार्यक्रमको अभाव रहेको धारणा व्यक्त गर्नुभयो । ‘‘सपना देख्नु र जनतालाई सपना देखाउनु बेग्लै कुरा हो, तर सपनालाई साकार पार्नु भने चुनौती हो,’’ उहाँले भन्नुभयो ।
मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारजस्ता क्षेत्रमा विभिन्न योजना घोषणा गरिएको छ । तर तिनको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा स्पष्ट योजना नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले हालसम्म प्रदेश सरकार बजेट खर्च गर्न समेत नसकेको आरोप लगाउनुभयो। ‘‘नीति तथा कार्यक्रम ल्याउनु राम्रो कुरा हो, तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र र इच्छाशक्ति आवश्यक पर्छ। अहिलेसम्म मधेश सरकारले बजेट खर्च गर्न पनि नसकेको अवस्था छ,’’ उहाँले भन्नुभयो ।
सांसद सुमनले प्रदेश सरकारले विगतमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरू पनि कार्यान्वयनमा कमजोर भएको भन्दै नयाँ घोषणाहरू गर्दा विगतको समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो। ‘‘हामीले पहिले के घोषणा ग¥यौँ, के हासिल ग¥यौँ भन्ने आत्ममूल्यांकन गर्नु आवश्यक छ। नयाँ नारा मात्र दिएर जनताको विश्वास जित्न सकिँदैन,’’ उहाँको भनाइ छ।
प्रदेश सरकार अहिले नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रतिपक्षी दलहरूले कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरू नीति तथा कार्यक्रम व्यवहारिक बनाउन र कार्यान्वयनको स्पष्ट खाका ल्याउन सरकारलाई आग्रह गरिरहेका छन् ।



