जनकपुरधाम ९ मंसिर । त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको पवित्र विवाह सम्पन्न भएको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमी उत्सव यसवर्ष पनि साताव्यापी कार्यक्रमसहित सुरु भएको छ । सोही क्रममा सोमवार आयोजित मटकोर कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । मटकोरलाई मिथिला संस्कृतिमा विवाह तयारीको महत्वपूर्ण चरण मानिन्छ, जसअन्तर्गत माटो उठाएर धार्मिक विधि सुरु गरिन्छ ।
जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिएको छ ।बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिएको छ ।
आज (मंगलवार) विवाह पञ्चमीको मुख्य दिन जनकपुरधाम सांस्कृतिक र धार्मिक उल्लासले झनै भरिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार मंगलवार बिहान जानकी मन्दिरबाट भगवती सीताको डोला र राम मन्दिरबाट भगवान् श्रीरामको डोला निकालिनेछ । दुवै डोला जनकपुरधाम परिक्रमा गर्दैै बाह्रबिघा (रंगभूमि) मैदानमा प्रवेश गर्नेछन्, जहाँ पौराणिक विवाहको पुनस्र्थापना स्वरूप “स्वयंवर कार्यक्रम” आयोजना गर्नेछ ।

यसैबीच, विवाहोत्सवको विशेष महत्वलाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारले आजको दिन सार्वजनिक बिदा घोषणा गरेको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी विज्ञप्तिमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी गराइएको छ ।
धार्मिक उत्साह प्रबल रहे पनि पछिल्ला केही वर्षयता विवाह पञ्चमीमा सहभागी हुन आउने पर्यटक तथा तीर्थालुहरूको संख्या घट्दै गएको देखिन्छ । नेपालभित्र भइरहेको राजनीतिक अस्थिरता, विभिन्न आन्दोलन र आन्तरिक द्वन्द्वको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण बताउँछन् ।
उहाँका अनुसार धार्मिक पर्यटनको प्रमुख उद्देश्य मन, आत्मा र आस्थामा शान्ति पाउनु हो, तर विगत केही वर्षदेखि आन्दोलन, नाकाबन्दीको वातावरण र राजनीतिक तनावले पर्यटकको आवागमन नै कमजोर बनाइदिएको छ । ‘जनकपुरधामलाई शान्ति क्षेत्रको रूपमा घोषणा गर्न सके धार्मिक पर्यटनले ठूलो फड्को मार्नेछ,’ उहाँले जोड दिनुभयो ।
केन्द्रीय सदस्य कर्णका अनुसार प्रदेशको आर्थिक विकासका लागि पर्यटन मुख्य आधार हो । तर राजनीतिक द्वन्द्वको प्रतिकूल प्रभाव सबैभन्दा बढी जनकपुरधाममा परेकाले भारत लगायत बाहिरी देशबाट आउने दर्शकहरूको संख्या वर्षैपिच्छे घट्दै गएको छ ।
यस वर्ष बारामा भएको जेनजी आन्दोलनले पनि विवाहोत्सवमा छिमेकी जिल्लाबाट आउने भक्तजनको संख्यामा कमी ल्याएको देखिन्छ । बारा, पर्सा र रौतहटका श्रद्धालुहरू विगत वर्षहरूमा तुलनात्मक रूपमा धेरै देखिन्थे, तर यस वर्ष त्यो भीड उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।
विवाहोत्सवलाई लक्षित गर्दै हरेक वर्ष व्यवस्थापन मजबूत बनाउने गरिए पनि यस वर्ष व्यवस्थापन पक्षमा कमजोरी देखिएको स्थानीयवासीहरूको बुझाइ छ । प्रदेश सरकार स्वयं आन्तरिक विवादमा फस्नु र जेनजी आन्दोलनको चपेटामा परिनुले महोत्सव व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पारेको जनाइएको छ ।
सुरक्षा व्यवस्था भने पर्याप्त रूपमा परिचालन गरिएको भएपनि बसोबास, शौचालय, खाना तथा स्वास्थ्य सेवाजस्ता आधारभूत व्यवस्थामा कमजोरी देखिएको स्थानीयको गुनासो छ । जनकपुरधाममा आउने लाखौँ दर्शनार्थीलाई सहज वातावरण दिन आवश्यक संरचना अभावका कारण भक्तजनले कठिनाइ बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
नगरभित्र सुरक्षा तैनाथी कडा पारिए पनि भक्तजनका लागि बनाइने अस्थायी व्यवस्था धेरै ठाउँमा अपुरो रहेकाले समग्र महोत्सव व्यवस्थापनलाई सुधार गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
जनकपुरधाममा हुने रामसीता विवाहोत्सव केवल धार्मिक पर्व मात्र होइन, ऐतिहासिक पहिचान, सांस्कृतिक निरन्तरता तथा नेपाल–भारतको साझा सभ्यताको प्रतीकसमेत हो । यस्ता चुनौतीहरूको समाधान गर्दै जनकपुरधामलाई स्थायी रूपमा सुरक्षित, व्यवस्थित र आकर्षक धार्मिक–पर्यटक गन्तव्यका रूपमा विकास गर्न सके यसको प्रभावसमेत दीर्घकालीन हुनेछ ।

