जनकपुरधाम, १२ पुस । अंग्रेजी क्यालेन्डरअनुसार जनवरीदेखि मार्चसम्म जनकपुरधाममा पर्यटकहरूको उल्लेख्य भीडभाड हुने गर्दछ । ती पर्यटकहरूमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहने गरेका छन् । भारतका हरियाणा, पञ्जाब, दिल्ली, राजस्थान, बनारस तथा बिहारबाट ठूलो संख्यामा पर्यटक जनकपुरधाम आउने गर्छन् ।
भारतीयसहित स्वदेशी तथा विदेशी पर्यटकको आगमनका कारण जानकी मन्दिर, राममन्दिर, राजदेवी मन्दिर, दुल्हा–दुल्हिन मन्दिर, जानकी मण्डप, धनुषा जिल्लाको धनुषधाम, क्षीरेश्वरनाथ मन्दिर, कपिलेश्वर मन्दिर, कुपेश्वर मन्दिर तथा महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिरजस्ता धार्मिक स्थलहरू भरिभराउ देखिन्छन् । त्यस्तै, गंगासागर, धनुषसागर, अगराज सर, दशरथ तलाउलगायतका सरोवरहरूमा स्नान गर्ने पर्यटकहरूको पनि उल्लेख्य भीड रहने गरेको छ ।
जनकपुरधाम प्रवेश गरेपछि अधिकांश पर्यटकहरूले गंगासागर, धनुषसागर, दशरथ तलाउलगायतका सरोवरहरूमा स्नान गरी यहाँका प्रमुख धार्मिक मन्दिरहरूमा पूजापाठ गर्दै धार्मिक स्थलहरूको भ्रमण गर्ने गर्छन् । यद्यपि वर्षको करिब तीन महिना पर्यटकको संख्या उल्लेख्य रहे पनि स्थानीय बजारको आम्दानी अपेक्षाकृत रूपमा नबढेको व्यापारीहरू बताउँछन् ।
जनकपुरधाम धार्मिक पर्यटकीय स्थल हो भन्नेमा कुनै दुईमत छैन । तर भारतका पर्यटकीय स्थलहरूको तुलनामा यहाँ उपभोग्य सामग्री महँगो भएकाले भारतीय पर्यटकहरूले सीमित मात्रामा किनमेल गर्ने गरेको स्थानीयको भनाइ छ ।
नेपाल तथा अन्य मुलुकबाट आउने पर्यटकका कारण होटल तथा आतिथ्य व्यवसायमा केही वृद्धि भए पनि भारतीय पर्यटकबाट आम्दानीमा खासै प्रभाव नपरेको स्थानीय व्यापारी सुशान्त गुप्ता बताउँछन् । उनका अनुसार यहाँभन्दा सस्ता सामग्री भारतमै उपलब्ध भएकाले भारतीय पर्यटकहरूले जनकपुरधाममा खासै किनमेल गर्दैनन् । भारतीय पर्यटकबाट बढीमा चिया, बिस्कुट तथा केही खुद्रा पसललाई मात्र फाइदा पुग्ने गरेको र अन्य व्यापारीलाई उल्लेख्य लाभ नहुने उनको भनाइ छ ।
पर्यटनस्थलहरूको आफ्नै पहिचान र महत्व हुन्छ । जनकपुरधामको धार्मिक महत्व विशिष्ट छ । तर राज्यको पर्याप्त ध्यान नपुगेका कारण यहाँका पर्यटन क्षेत्रहरू अपेक्षित रूपमा फस्टाउन नसकेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण बताउँछन् । उनका अनुसार स्थानीय उत्पादनलाई धार्मिक महत्वसँग जोडेर व्यवसायीकरण गर्न सके जनकपुरधाममा पर्यटकबाट आम्दानीका थप स्रोतहरू सिर्जना हुन सक्थे । तर त्यसतर्फ राज्य र स्थानीय तह दुवै उदासीन रहँदा भारतीय पर्यटकबाट खासै लाभ लिन नसकिएको उनको धारणा छ ।
उनले भने, “जनकपुरधाम जानकी मन्दिरकै महत्वका कारण चिनिन्छ । जानकी मन्दिरको प्रसादका रूपमा स्थानीय उत्पादनलाई विकास गरी व्यवसायीकरण गरिएको भए यहाँका व्यवसायीहरू फस्टाउने थिए । तर यस विषयमा राज्य र स्थानीय तह दुवैको उदासीनता देखिन्छ ।”
पर्यटकीय सवारी साधनबाट राज्यको राज्सवमा आम्दनी बढेपनि स्थानीय व्यवसायी फ्स्टाउनका लागि राज्यले स्वयं गम्भीरता देखाउन आवश्यक छ ।

