जनकपुरधाम । तराई–मधेसका प्रमुख चाडपर्वहरूमध्ये एक जितिया पर्व आजदेखि हर्षोल्लासपूर्वक मनाइँदैछ । जनकपुरधामका गंगासागर, धनुषसागरलगायत धार्मिक महत्व बोकेका पोखरी, तलाउ तथा नदीहरूमा महिलाहरूले नहाय–खाय (स्नान गरेर प्रसाद ग्रहण गर्ने) विधिबाट व्रत प्रारम्भ गरेका छन् ।
महिलाहरूले गर्ने यो व्रतलाई कठोर व्रतको रूपमा मानिन्छ । सन्तान प्राप्ति, दीर्घायु, उत्तम स्वास्थ्य तथा सन्तानप्रतिको मातृत्व भावनासँग जोडिएको यस व्रतको प्रचलन परापूर्वकालदेखि रहँदै आएको छ । थारू समुदायले पनि यो पर्वलाई अत्यन्त आस्थापूर्वक मनाउँदै आएको छ ।
जितिया व्रतको कथा
भविष्य पुराणका अनुसार प्राचीनकालमा शालिवाहन पुत्र जिमुतवाहन महादेवको असीम कृपाले आशीषित थिए । उनको वरदान अनुसार यो व्रत लिनेको सन्तान दीर्घायु हुने विश्वास रहँदै आएको छ ।
कथा अनुसार नर्मदा नदी किनारको पाकडी रुखमुनि वस्ने स्याल र चिलबीच घनिष्ठ मित्रता थियो । व्रतालु महिलाहरूले जिमुतवाहनलाई प्रसाद चढाएर कथा सुनिरहेको देखेपछि उनीहरूलाई पनि व्रत बस्ने इच्छा भयो । दुवै जनाले व्रत बसे पनि स्यालले राति व्रत भङ्ग गरी मृतकको मासु खायो, जबकि चिलले मौन साधेर व्रत पूरा ग¥यो ।
उनीहरू पछि ब्राह्मण परिवारमा छोरी भएर जन्मिए—जेठी शिलावती र कान्छी कर्पुरावती । शिलावतीले व्रत अटुट रूपमा पालन गर्दा सातै छोराको दीर्घायु भयो, तर कर्पुरावतीले व्रत भङ्ग गरेका कारण उसका सन्तान बाँच्न सकेनन् । यसै घटनाले व्रत भङ्ग नगर्ने शिक्षा दिन्छ ।
स्थानीय परम्पराअनुसार शनिबार, आइतबार वा मंगलबार परेको व्रतालाई खर जितिया भनिन्छ । “म्या खड् जितिया केन रहौं, तब बच्लह” भन्ने उखान आमाहरूको आस्थासँग जोडिएको छ ।
उत्सव र आस्था
व्रतको दिन महिलाहरू आँगनमा गोबरले पोखरी वा नदीको प्रतीक बनाएर पाकडको डाली रोप्छन् र भगवान् जिमुतवाहनको पूजा गर्छन्। फलफूल, पकवान र भजन–कीर्तनमार्फत भक्तिमय वातावरण सिर्जना हुन्छ। यस वर्ष पनि जनकपुरधामसहित सम्पूर्ण क्षेत्रमा जितिया पर्वलाई लिएर विशेष उत्साह छ र बजारमा किनमेल चहलपहल बढेको छ।

